रवि केन्द्रित पार्टीबाट संस्था केन्द्रित पार्टी बन्ने यात्राको सुरुआत होस् !

रास्वपा प्रथम महाधिवेशन

470
Shares

काठमाडौं

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन केवल सामान्य नेतृत्व चयनको कार्यक्रमका रूपमा मात्रै हेर्नु पर्याप्त हुँदैन। यो महाधिवेशनले एउटा गम्भीर प्रश्न उठाएको छ– रास्वपा रवि लामिछानेको लोकप्रियतामा टिकिरहने पार्टी हो कि संस्थागत आधारमा चल्ने राजनीतिक शक्ति बन्नेछ ?
चार वर्षअघि स्थापना भएको पार्टीले नेपालको राजनीतिक इतिहासमा दुर्लभ मानिने सफलता हासिल गरेको यथार्थ हो । कुनै स्थापित संगठनात्मक संरचना, लामो राजनीतिक इतिहास वा परम्परागत कार्यकर्ता पंक्ति बिना नै रास्वपाले संघीय संसदमा चौथो ठूलो शक्तिको हैसियत बनाउनुको श्रेय रवि लामिछानेमा जान्छ ।
तर राजनीतिमा लोकप्रियता र संस्थागत स्थायित्व एउटै कुरा होइन। नेपालको इतिहासमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी) लगायतका दलहरू कुनै एक नेताको चमत्कारमा उदाए, तर संस्था निर्माण गर्न नसक्दा त्यही नेताको उतारचढावसँगै पार्टी पनि कमजोर बने। त्यसैले रास्वपाको पहिलो महाधिवेशन वास्तवमा रवि लामिछानेलाई पुनः सभापति बनाउने प्रक्रियाभन्दा पनि पार्टीले आफ्नो भविष्यको संरचना कस्तो बनाउने भन्ने परीक्षाको मैदान हो।
महाधिवेशनमा पार्टी सभापतिमा अहिले पनि रवि लामिछानेलाई निर्विकल्प नेतृत्वका रूपमा स्वीकारिएको देखिन्छ। तर यही अवस्थाले अर्काे प्रश्न पनि जन्माएको छ, यदि पार्टीको सम्पूर्ण राजनीतिक ऊर्जा एउटै व्यक्तिमा निर्भर रह्यो भने संस्थागत विकास कसरी सम्भव हुन्छ ?
यो प्रश्न अहिले झन् सान्दर्भिक बनेको छ। सहकारी प्रकरणपछि रवि स्वयं कानुनी र राजनीतिक दबाबको केन्द्रमा हुनुहुन्छ । पार्टीले बारम्बार आफूलाई वैकल्पिक शक्ति भने पनि पार्टीको सार्वजनिक छवि अझै पनि रविकै व्यक्तित्वसँग जोडिएको छ। यस्तो अवस्थामा कुनै पनि संकटले नेता मात्र होइन, सिंगो पार्टीलाई प्रभावित गर्न सक्छ। यही कारण महाधिवेशनमा महिला उपसभापति लगायतका पदमा देखिएको प्रतिस्पर्धालाई सामान्य पदलोलुपताको रूपमा मात्रै हेर्न मिल्दैन। यो पार्टीभित्र दोस्रो तहको नेतृत्व निर्माणको प्रारम्भिक संकेत पनि हुन सक्छ। पार्टीले सक्षम, स्वतन्त्र र प्रभावशाली नेतृत्वको समूह तयार गर्न सक्यो भने मात्र संस्था बलियो बन्छ।
रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले महाधिवेशनमा राज्यका संस्थाहरू कमजोर रहेको र जनतामा निराशा बढेको टिप्पणी गर्नुभएको छ, वास्तवमा यही तर्क रास्वपामाथि पनि लागू हुन सक्छ। पार्टीले अरूको संस्थागत कमजोरीको आलोचना गर्ने हो भने आफ्नै संगठनभित्र संस्थागत अभ्यास स्थापित गर्नुपर्ने चुनौती पनि उत्तिकै ठूलो छ।
महाधिवेशन उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति गगन थापा र एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले दिनुभएका सन्देशलाई पनि यही सन्दर्भमा बुझ्न सकिन्छ। दुवैले फरक भाषामा एउटै कुरा भन्नुभएको छ । त्यो हो, जनमत प्राप्त गर्नु ठूलो कुरा हो, तर त्यसलाई व्यवस्थापन गरेर टिकाइराख्नु अझ कठिन काम हो।
नेपालका मतदाताले पछिल्ला वर्षहरूमा नयाँ शक्तिलाई अवसर दिन तयार रहेको सन्देश दिएका छन्। तर उनीहरू त्यत्तिकै छिटो निराश पनि हुने गरेका छन्। त्यसैले रास्वपाको चुनौती अब पुराना दलविरुद्धको असन्तुष्टिमा राजनीति गर्नु मात्र होइन, आफूले फरक संस्था निर्माण गर्न सक्छु भन्ने प्रमाण दिनु पनि हो। संस्था निर्माणको अर्थ केवल विधान बनाउनु वा पदाधिकारी चयन गर्नु मात्र होइन। यसको अर्थ नेतृत्व परिवर्तनलाई सहज बनाउने संस्कृति विकास गर्नु, असहमतिको सम्मान गर्नु, निर्णय प्रक्रियालाई पारदर्शी बनाउनु र व्यक्तिभन्दा प्रणालीलाई बलियो बनाउनु हो।
रास्वपाको पहिलो महाधिवेशनपछि पनि रवि लामिछाने नै पार्टीको निर्विवाद नेता रहने सम्भावना बलियो छ। तर यो महाधिवेशनलाई रविको पुनः चयनका लागि होइन, रास्वपा व्यक्तिको छायाँबाट बाहिर निस्केर संस्था बन्ने दिशामा अघि बढ्न सक्यो कि सकेन भन्ने आधारमा मूल्यांकन गर्नु जरुरी छ। किनभने राजनीतिक दलहरू चुनाव जितेर मात्र दीर्घकालीन शक्ति बन्दैनन्। उनीहरू संस्था बनेपछि मात्र टिक्छन्। र अहिले रास्वपाको अगाडि रहेको सबैभन्दा ठूलो चुनौती पनि यही हो।