‘जनताको विश्वासमा तातोपानी खन्याउने काम भयो’



नेपाल समाचारपत्र, विराटनगर ।

प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावलाई जनताको विश्वासमा तातोपानी खन्याउने काम भएको टिप्पणी गर्नुभएको छ । सोमबार विराटनगरमा आयोजित प्रदेश–१ सरकारको तेस्रो वार्षिक उत्सव समारोहमा बोल्दै उहाँले जनविरोधी हर्कतको संज्ञासमेत दिनुभएको छ ।

संसदीय व्यवस्थाको प्रचलित नियमविपरीत अविश्वासको प्रस्ताव आएकाले वैधानिकता प्रश्नको निरुपण गरी प्रस्तावको सामना गर्ने मुख्यमन्त्री राईको भनाइ छ ।प्रदेश–१ सरकारले तीन वर्षको अवधिमा प्रदेशमा महत्वपूर्ण उपलब्धि हाँसिल गरेको दाबी पनि गरेको छ । कार्यक्रममा प्रदेश–१ का प्रमुख सोमथान अधिकारी प्यासीले प्रदेश सरकार सफल भएको बताउनुभएको छ । विश्वब्यापीरूपमा फैलिएको कोरोना महामारीका बेला प्रदेश सरकारले महत्वपूर्ण योगदान गरेको बताउँदै उहाँले तीन वर्षमा सरकारले महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभएको हो ।

संघ र स्थानीय तहको कडीका रूपमा प्रदेश सरकारले भूमिका निर्वाह गरेको उहाँले बताउनुभयो । कोरोना जनसुरक्षा कोष, गरिबसँग खाद्यान्न कार्यक्रमलगायतका जनतालाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमहरू प्रदेश सरकारले सञ्चालन गरेको उहाँको भनाइ छ ।यस्तै, प्रदेश–१ मा यातायात कार्यालयहरूले उपलब्ध गराउने सेवाहरू डिजिटल प्रविधिबाट उपलब्ध गराउने कामको थालनी पनि भएको छ । कार्यक्रममा डिजिटल प्रविधिको सेवा ल्यापटपको किबोर्ड थिचेर मुख्यमन्त्री राईले उद्घाटन गर्नुभएको थियो । उहाँले यातायातका साधनको दर्ता, नवीकरण, नामसारीलगायतका सबै काम अनलाइनबाटै हुने जानकारी दिनुभयो ।

मुख्यमन्त्री राईले यातायातको मात्रै नभई मालपोत, नापीलगायतका कार्यालयले प्रवाह गर्ने सेवा पनि छिट्टै अनलाइन माध्ययमबाटै प्रवाह गरिने बताउनुभयो । प्रदेश–१ को तेस्रो वार्षिकोत्सवमा नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपाल समूहले अघोषितरूपमा बहिस्कार गरेको थियो । सो समूहका नेता इन्द्रबहादुर आङ्बोले वैधता सकिएको सरकारको वार्षिकोत्सबमा सहभागी हुन आवश्य नठानेको बताउनुभयो । वार्षिकोत्सवमा नेपाली कांग्रेसले पनि सहभागिता जनाएन । कांग्रेस प्रमुख सचेतक केदार कार्कीले पार्टीको कार्यक्रम भएकाले सहभागी नभएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्