प्राधिकरणका कार्यकारी निर्देशक शाक्यद्वारा पदबहाली



काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आज पदबहाली गर्नुभएको छ । शाक्यले आज रत्नपार्कमा रहेको प्राधिकरणको केन्द्रीय कार्यालयमा १७औँ कार्यकारी निर्देशकका रुपमा पदबहाली गर्नुभएको हो ।

गत कात्तिक २६ देखि कायममुकायम ९कामु० कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्नुभएका शाक्यलाई नेपाल सरकार मन्त्रिपरिषद्को माघ २६ को बैठकले कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

पदबहालीपछि आयोजना गरिएको बधाई तथा शुभकामना कार्यक्रममा शाक्यले उपभोक्तालाई गुणस्तरीय विद्युत् आपूर्तिका लागि प्रसारण र वितरण लाइनको सुदृढीकरण तथा विस्तार र मुलुकभित्र खपत गरी बढी भएको विद्युत् बिक्रीका लागि बजार खोज्ने काम आफ्नो मुख्य प्राथमिकता रहेको बताउनुभयो ।

“आगामी चार वर्षभित्रमा प्रतिव्यक्ति ऊर्जा खपत ५०० युनिट पु¥याउने, संस्थागत विकास योजनालाई अद्यावधिक गरी कार्यान्वयन गर्ने, निर्माणाधीन उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाको निर्माण सम्पन्न गर्ने र दूधकोशी, माथिल्लो अरुणजस्ता रुपान्तरणकारी आयोजनाको निर्माण अगाडि बढाइने छ”, उहाँले भन्नुभयो ।

विद्युत् चुहावट नियन्त्रण, विश्वसनीय विद्युत् वितरण प्रणालीका लागि प्रणालीको सुदृढीकरण तथा विस्तारका काम प्राथमिकताका साथ अगाडि बढाइने उहाँको भनाइ छ । ‘लेऊ या तिर’(टेक अर पे)को शर्त राखी विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरिएका जलविद्युत् आयोजनाको बर्खाको विद्युत् बिक्री चुनौतीपूर्ण रहेको बताउनुभयो ।

उहाँले आन्तरिकरुपमा खपत बढाउने र बढी भएको विद्युत् बिक्रीका लागि छिमेकी मुलुकसँगको व्यापार आफ्नो उच्च प्राथमिकता रहेको बताउनुभयो । “विद्युत् आपूर्तिका लागि पर्याप्त विद्युत् छ पुरानो संरचना बदल्न तथा नयाँ शुरु गर्न एकातर्फ स्रोतको अभाव छ भने अर्कोतर्फ स्थानीयको अवरोधले चुनौती थपिदिएको छ, यस्ता चुनौतीलाई समाना गर्दै सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत प्रणालीलाई अत्याधुनिक तथा स्वचालित बनाइने छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा अर्थ निर्देशनालयका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले आन्तरिकरुपमा खपत गरेर बढी भएको विद्युत्को बिक्री व्यवस्थापन नै प्राधिकरणका लागि ठूलो चुनौती रहेको उल्लेख गर्नुभयो । “विश्वसनीय विद्युत् आपूर्ति, चुहावट नियन्त्रण, मुलुकलाई पूर्णरुपमा विद्युतीकरण गर्नु पनि चुनौतीपूर्ण देखिएको छ”, उहाँले भन्नुभयो । त्यस्ता चुनौतीको सामना गर्न कार्ययोजनाका साथ अगाढि बढ्नुपर्ने उहाँको भनाइ छ ।

प्राधिकरणको आधिकारिक ट्रेड युनियका संयोजक रामेश्वर पौडेलले बढी भएको विद्युत् बिक्री, चुहावट नियन्त्रण, संस्थागत पुनसंरचना विगतमा हासिल भएका उपलब्धिको निरन्तरतालगायतका विषय नयाँ व्यवस्थापनको चुनौती रहेको बताउनुभयो । उहाँले यस्ता चुनौतीको सामना गर्न व्यवस्थापनले चाल्ने कदममा सहयोग र साथ रहने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्