स्वर्गको राजा ईन्द्रको पाप मोचन भएको तिर्थस्थल



न्युज अफ नेपाल, काभ्रे ।

अब ११ महिना पछि पनौतीमा १२ वर्षे मकर मेला लाग्दै छ । स्वर्गका राजा ईन्द्रको पाप मोचन भएको पवित्र तिर्थस्थल पनौतिको त्रिवेणी घाटमा मकर मेलामा लाखौ भत्तजनहरु आउने गर्छन । त्रिवेणी घाटमा स्नान गरि इन्द्रेश्वर महादेवको दर्शन गरे पाप मोचन हुने विश्वासका साथ मकरमेलामा देशभरबाट भत्तजनहरु आउने भएकाले पनौति नगरपालिकाले यो तिर्थस्थललाई व्यवस्थित बनाउन अहिलेदेखि नै ध्यान दिनु पर्ने देखिन्छ ।

देवताहरुको समेत पवित्र तिर्थ स्थल रहेको पनौतीको त्रिवेणी घाटमा स्वर्गका राज इन्द्रले समेत १२ दिन तपस्या गरि पाप मोचन गरेको पौराणिक ग्रन्थहरुमा उल्लेख छ । पनौतिको तिर्थस्थलको ईतिहासबार इन्द्रेश्वर महादेव मन्दिरका पुजारी शिव जंगम भन्छन– मिथला देश (जनकपुर) मा गौतम ऋषिको पत्नी अहिल्यालाई स्वर्गका राज ईन्द्रले छल गरि यौन शोषण गरेपछि गौतम ऋषिको श्रापबाट उत्पन्न शरिर भरिको योनि हटाउन स्वर्गका राजा इन्द्र पनौतिको त्रिवेणी तिर्थ आएका थिए ।

पौराणिक कथन अनुसार जनकपुरमा गौतम ऋषि स्नान गर्न गएको बेला गौतम ऋषिको भेष गरि आएका भगवान इन्द्रले अहिल्याको यौन शोषण गरि पतिव्रता नष्ट गरिदिएका थिए । त्यसैबोला गौतम ऋषि आएर आफ्नो भेष गरि आउने को हो भनि इन्द्रलाई सोधेको र वास्तविक भेष नदेखाए भष्म पारिदिने बताएपछि इन्द्रले आफ्नो बास्तविक भेष देखाएका थिए । गौतम ऋषिले त्यतिवेलै श्राप दिदै इन्द्रको उनको शरिरभरी योनी बनाइदिए भने अहिल्यालाई पत्थर बनाईदिएका थिए ।

गौतम ऋषिको श्रापपछि आफ्नो शरिरभरी महिलाको योनि लिएर स्वर्ग गएका ईन्द्रले गुरु वृहस्पतिलाई आफ्नो पाप मोचन कसरी गर्ने भन्ने बारे सोधेका थिए । वृहस्पतिले इन्द्रलाई पाम मोचन गर्न तिर्थ जानु, तिर्थमा सुकेको बास गाड्नु भोलिपल्ट जहा बास पलाउछ त्यहि भगवान शिवको तपस्या गर्न सल्लाह दिएका थिए ।

गुरु वृहस्पतिको सल्लाह बमोजिम भगवान इन्द्र विभिन्न तिर्थ गए पनि पनौतीको त्रिवेणी घाटमा भने बास पलायो । बास पलाएपछि आफ्नी पत्नी सचि सहित १२ दिन तपस्या बसेका थिए । तत पश्चात शिवजी प्रकट भएर इन्द्रको पाप मोचन गरिदिएको पौराणिक कथन छ । त्यतिवेला भगवान शिवले इन्द्रलाई तिम्रो शरिरको सम्पुर्ण योनि जान्छ तर निधारमा एउटा योनी रहन्छ भनेर मोक्ष गराएका थिए । भगवान इन्द्रको तीन आखा मध्य एउटा त्यहि निधारको भएको पुजारी जंगम बताउछन् ।

पापबाट मोक्ष पाएर खुशी भएका इन्द्रले नै बनाईदिएको भएर यहाको मन्दिरको नाम पनि इन्द्रेश्वर महादेव रहेको रहेको भनाई छ । ६४ शिवलिङ्ग मध्य पनौतिको इन्द्रेश्वर महादेव पनि एक हो । गौतम ऋषि आफ्नी पत्नी अहिल्यालाई श्राप दिएर बनेको पत्थर पनि यहि इन्द्रेश्वर महादेवको मन्दिरको उत्तर र पुर्वको कुनामा देख्न सकिन्छ । इन्द्रेश्वरलाई पशुपतिमा रहेको विरुपाक्षले पनि दर्शन गरेर पुर्व गएको हिमवतखण्डमा उल्लेख गरेको स्थानिय बुढापाकाको भनाई रहेको छ ।

स्वर्गको राजा इन्द्रको पत्नी सचिले समेत तपश्या गरेकोले त्रिवेणीघाटको नाम सचितिर्थ घाट रहेको बताइन्छ । रोशीबाट आउने लिलावती, बनेपातिरबाट आउने मद्मावती (पुण्यमति) र ब्रम्हायणी मन्दिर मुनिबाट आउने रुद्रवती तिन नदि मिलेर त्रिवेणी बनेको पौराणिक कथन छ ।

इन्द्रेश्वर मन्दिर प्राङगणमा मुत्ति नारायण, तुला नारायण, शेष नारायण, सुर्य नारायण, गोपि नारायण विश्वेश्वोर शिवलिङ्ग, उमा महादेव, सत्य नारायण, क्षेत्रपाल सहित कुमार र अष्ट मातृका सहित उन्मत्त भैरवको मुर्ति पनि छ ।

ऐतिहासिक पृष्टभुमि बोकेको यो तिर्थ स्थलको २०४८ सालमा फ्रान्स सरकारको सहयोगमा जिर्नोद्धार गरिएको थियो । यहा २०७८ साल माघ महिनाभरी मकर मेला लाग्दै छ । सचितिर्थमा स्नान गरि इन्द्रेश्वर महादेवको दर्शन गरेपछि पाप मोचन हुन्छ भन्ने विश्वासका साथ देशभरबाट लाखौ भत्तजनहरु यो मकरमेलामा तिर्थ आउने गर्छन ।

प्रतिक्रिया दिनुहोस्