नेप्से परिसूचक र कारोबार रकममा फेरि रेकर्ड

बजार पुँजीकरण ३४ खर्ब



नेपाल समाचारपत्र, काठमाडौं ।

छलाङ मार्ने लयमा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक र कारोबार रकम आइतबार ऐतिहासिक बिन्दुमा पुगेको छ । नेप्सेमा ४८ दशमलव ७४ अंकले बढेर २५२४ बिन्दुमा पुगेको छ । यो यसअघि माघ २२ गते कायम भएको उच्च बिन्दु २४७५ दशमलव २६ बिन्दुलाई पार गरे रहेको हो। बजार वृद्धिसँगै नेप्सेमा सूचीकृत कम्पनीहरूको समग्र बजार पुँजीकरण ३३ खर्ब ९९ अर्ब ७२ करोड ७४ लाख रुपियाँभन्दा बढी पुगेको छ ।

कारोबार रकममा पनि हालसम्मकै उच्च रेकर्ड कायम गरेको हो कुल २०२ कम्पनीको एक करोड ७७ लाख ३६ कित्ता शेयर १० अर्ब ४४ करोड १९ लाख रुपियाँभन्दा बढीमा कारोबार भएको छ । आइतबार कारोबार भएका १२ समूहमध्ये तीन समूहको सूचक ओरालो लागेको छ भने बाँकी नौ समूहको शेयर उकालो लागेको छ । घट्नेमा बैंकिङ, विकास बैंक र सामूहिक लगानी कोष समूह रहेका छन् । कारोबारका आधारमा हिमालयन डिस्टिलरी कम्पनी अगाडि रहेको छ । सो कम्पनीको ५३ करोड १७ लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ । यस्तै नेपाल लाइफ इन्स्योरेन्सको ३१ करोड ७६ लाख, शिखर इन्स्योरेन्सको ३१ करोड ४६ लाख, ग्लोबल आइएमई बैंकको २९ करोड ४६ लाख, छिमेक लघुवित्त विकास बैंकको २६ करोड ९७ लाख, डिप्रोक्स लघुवित्त २६ करोड, नेपाल पुनर्बीमा कम्पनीको २४ करोड ८१ लाख, नेसनल लाइफ इन्स्योरेन्सको २३ करोड ३२ लाख र स्वावलम्बन लघुवित्तको २२ करोड २० लाख रुपियाँभन्दा बढीको शेयर किनबेच भएको छ ।

आइतबारको कारोबारमा डिप्रोक्स लघुवित्त, मेरो माइक्रोफाइनान्स, सारथी नेपाल लघुवित्त, आरएसडीसी लघुवित्त, गणपति माइक्रोफाइनान्स, नागरिक लगानी कोष, निर्धन उत्थान लघुवित्त, मञ्जुश्री फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ। साथै समिट लघुवित्त र आरम्भ चौतारी लघुवित्तलगायतका दुई दर्जनभन्दा बढी कम्पनीका लगानीकर्ताको शेयर मूल्य पनि करिब १० प्रतिशतले वृद्धि भएको छ । समग्र परिसूचक बढे पनि नेपाल फाइनान्स, ङादी ग्रुप, सनराइज फस्ट म्युचुअल फन्ड, नारायणी डेभलपमेन्ट बैंक र हिमालयन डिस्टिलरीका लगानीकर्ताले भने गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्