‘औषधिको चिन्ता छोड्नुहोस्, अब घरमै आइपुग्छ’



न्युज अफ नेपाल, काठमाडौं ।

नियमित औषधि सेवन गरिरहेकाहरूलाई औषधि सकियो, किन्न जान पाइएन भन्ने चिन्ता हटेको छ । अब यस्ता बिरामीलाई घरमा नै औषधि उपलब्ध हुने भएको छ । साधना होलसेल फार्मा कम्पनीले सर्वसाधारणलाई आवश्यक पर्ने औषधि घरमा नै पुर्‍याउने व्यवस्था मिलाएको हो ।

अनलाइन प्रणालीबाट कम्पनीले चिकित्सकको प्रेसक्रिप्सन अनुसारका औषधि घरमा नै पुर्‍याउने व्यवस्था मिलाएको छ । यसका निम्ति उपभोक्ताले कम्पनीको वेबसाइटमा गई लगइन गरेर चिकित्सकको प्रेसक्रिप्सन सब्मिट गर्दै आफूलाई चाहिएको औषधिका मात्रा पनि उल्लेख गर्नुपर्नेछ । यसरी सेन्ड गरेको ४८ घण्टाभित्रमा नै उपभोक्ताको घरमा औषधि डेलिभरी हुनेछ ।
अनलाइनबाहेक फोन, इमेल, ह्वाट्सएप, भाइबरलगायतका माध्यमबाट पनि औषधि मगाउन सकिने कम्पनीले जनाएको छ । यसरी औषधि मगाउँदा उपभोक्ताले १५ प्रतिशतसम्म छुटसमेत पाउनेछन् । तत्काल काठमाडौं उपत्यकाभित्र मात्र सीमित यो सेवा दुई वर्षभित्र देशका मुख्य–मुख्य शहरमा पुर्‍याउने कम्पनीको लक्ष्य रहेको छ ।

चिकित्सकले सिफारिस गरेका जुनसकै औषधिलाई कम्पनीले सजिलै घरसम्म पुर्‍याइदिने भएपछि कोरोना संक्रमणको यो महामारीमा मानिस जोखिम मोलेर औषधि किन्न भीडभाडमा जानुपर्ने झन्झटबाट मुक्त हुनुको साथै संक्रमणबाट समेत सुरक्षित हुने भएका छन् ।

यसका अतिरिक्त औषधि खरिद गर्न जाँदा लाग्ने समयलाई बिरामीको सेवा वा घर–अफिसको काममा उपयोग गर्न पाउनेछन् भने कतिपय औषधि नपाएर विभिन्न ठाउँमा भौँतारिनुपर्ने पीडा पनि अब हुनेछैन ।

औषधि पुर्‍याएपछि बिलअनुसारको नगद भुक्तानी वा ई–सेवाबाट भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको कम्पनीका कार्यकारी निर्देशक असिम शर्माले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्