पर्वतको चित्रे होमस्टेमा एघार महिनापछि पर्यटकको चहलपहल

कोदोका परिकार, भजन र नौमतीबाजाले आकर्षण थप्दै



दुर्गाप्रसाद शर्मा, पर्वत । कोभिड १९ पछि बन्द भएको गण्डकी प्रदेशकै अग्रणी पर्वतको चित्रे स्थित सामुदायिक होमस्टेमा ११ महिनापछि पर्यटकको चहलपहल शुरु भएको छ ।कोभिड १९ को महामारी नहुँदा सम्म धेरैको रोजाइमा पर्दै आएको मोदी गाउँपालिका–८ चित्रेमा रहेको ‘चित्रे ग्रामीण पर्यटन होमस्टे’मा माघको दोस्रो साता देखि फेरी पर्यटकको चहलपहल शुरु भएको छ ।

चित्रेबाट देखिने प्राकृतिक दृश्यका साथै गुरुङ जातिको मौलिक कलाले होमस्टेमा आउनेहरुको मन जित्दै आएको छ । अहिले आन्तरिक पर्यटकहरु आउने क्रम शुरु भएको छ । पोखरा र काठमाण्डौबाट समेत ग्रुपहरु आउन थालेको होमस्टे ब्यबस्थापन समितिकी अध्यक्ष शुसिलादेबी गुरुङ्गले बताउनुभयो । कोरोना महामारीभन्दा अगाडिसम्म वार्षिक ३ हजारभन्दा बढी पर्यटक होमस्टेमा पुग्ने गरेको तथ्यांक छ। ‘कोभिड १९ का बिचमा पनि हामीले होमस्टे खुल्ला गरेका छौ, अब पर्यटक आउने क्रम शुरु भएको छ’ उहाँले भन्नुभयो ‘बिस्तारै पुरानै लयमा फर्कने बिश्वास हामीले लिएका छौ ।’

चित्रेको होमस्टेलाई व्यावसायिक रुपमा भन्दा पनि सेवामुखी बनाइएको छ कतिपय ठाउँमा होमस्टे चलाएर नै दैनिक गुजारा चलाउने स्थानीयको दैनिकी रहने गरेको भए पनि चित्रेमा होमस्टे चलाइरहेका सात घरका लागि त्यो बाध्यता छैन। जति बचत हुन्छ, त्यसको करिब दुई प्रतिशत वातावरण संरक्षण, शिक्षा, पर्यापर्यटनमा लगानी गर्ने गरेको र पाँच प्रतिशत होमस्टेको कोषमा राख्ने गरिएको छ। समितिका अनुसार चित्रेको होमस्टेमा एक पटकमा ७० जनासम्म राख्न सक्ने क्षमता छ। अहिले धेरै घरहरुमा कोठा थप्ने र सबै एट्याच रुम बनाउने क्रम चलेको छ । धेरै घरमा सुधार गरिएको अध्यक्ष शुसिलादेबी गुरुङ्ग बताउनुहुन्छ ।

चित्रे हुँदै स्याङ्जा, कास्की र पर्वतको संगमस्थल पञ्चासेमा पदयात्रा गर्दै समेत जाने ‘रुट’ समेत रहेका कारण पदयात्रामा जानेदेखि चित्रेको कला र प्राकृतिक सौन्दर्य हेर्न जाने आन्तरिक पर्यटकहरुको संख्या धेरै छ। होमस्टे पुग्न साथ गुरुङ पोशाकमा सजिएका महिलाबाट टीका, फूल र मालाबाट गरिने आतिथ्यले सबैलाई फुरुङ्ग बनाउँछ। खानाको रुपमा कोदोको पिठोबाट बनाइएको पुवा, सेल रोटी, गुन्द्रुक र भट्टको तरकारी, स्थानीय जातका गोलभेडाबाट बनाएको चटनी अनि लेकको चिसो पानीले मथेर बनाएको मोहीले धेरैलाई लोभ्याउँछ। चित्रेको होमस्टेका आकर्षणमा अर्गानिक र स्थानीय खानाका स्वादसँगै पञ्चेबाजाको ताल र भजनको टुक्का पनि रहेको होमस्टे विकास समितिका सल्लाहकार मधुसोधन अधिकारीले बताउनुभयो ।

मौलिक कलाको प्रचार र प्रवर्द्धन तथा पाहुनाको मनोरञ्जनका लागि साँझमा पञ्चेबाजा र भजन टोलीको फरक फरक प्रस्तुतिले धेरैलाई रमाइलो लाग्ने गरेको होमस्टे सञ्चालकहरु बताउँछन्। जाडोको बेलामा ‘क्याम्प फायर’सहित पञ्चेबाजा र भजनको तालमा नाच्न पाउँदा होमस्टेमा पुग्नेहरुलाई झनै हौसाएको वडाध्यक्ष समेत रहेका सुकबहादुर गुरुङको भनाइ छ। ‘पाहुनाको रमाइलोका लागि उहाँहको चाहनाअनुसार बेलुकामा पञ्चेबाजा र भजनको टोली आउँछ। पालैपालो भजन र बाजा घन्किन्छ। कोही भजनमा कोही बाजामा नाच्छन्,’ वडाध्यक्ष गुरुङ्गले भन्नुभयो ‘यो रमाइलोले पनि होमस्टे जाउँ जाउँ लाग्ने बनाएको भनेर आएकाहरुले भन्ने गर्नुहुन्छ।’
समाप्त माघ २०

प्रतिक्रिया दिनुहोस्