सुरक्षा अधिकारीको अन्तरजिल्ला समन्वयात्मक बैठक सम्पन्न



बैतडी, (नेस)

सुरक्षा अधिकारीको बैतडी र बझाङको अन्तरजिल्ला समन्वयात्मक बैठक शनिबार बझाङको बित्थडमा सम्पन्न भएको छ । दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरीक्षक, सशस्त्र प्रहरी नायव उपरीक्षक र नेपाली सेनाका सेनानी सहभागी बैठकले दुवै जिल्लामा मिलेर शान्ति सुरक्षा कायम गर्ने विषयमा निर्णय गरेका छन् ।

दुवै जिल्लाका सीमामा हुन सक्ने आपराधिक क्रियाकलाप रोक्ने, सीमानामा शान्ति सुरक्षा कायम गर्ने, सडक दुर्घटना न्यूनीकरण गर्नेलगायतका विषयमा छलफल भएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो ।

बझाङ बैतडीसँग सीमाना जोडिएको जिल्ला भएकाले दुवै जिल्लाका सुरक्षा निकायका बीच समन्वयात्मक बैठक सम्पन्न गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारी बताउनुहुन्छ ।

बैठकमा बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, नेपाली सेनाको हनुमानध्वज गुल्मका गुल्मपति, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारी, सशस्त्र प्रहरी बल ५१ नम्बर गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक गणेश शाह, बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीलगायतका बझाङका सुरक्षा निकायका प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।

समन्वयात्मक बैठकपछि दुवै जिल्लाका सीमा क्षेत्रमा हुन सक्ने गैरकानुनी क्रियाकलाप रोक्नका लागि मद्दत मिल्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्