चार हजार बढीले रोजगारी पाउने



नेपाल समाचारपत्र, बैतडी ।

देशभित्रै बेरोजगार युवालाई रोजगारी दिने लक्ष्य साथ थालिएको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ४ हजार २ सय बढी नागरिकले एक सय दिनको रोजगारी पाउने भएका छन् । स्थानीय तहको रोजगार सेवा केन्द्रमा आवेदन दिएकामध्ये ४ हजार २ सय ८१ जना छनोट भएका स्थानीय तहहरुले जनाएका छन् ।

जिल्लाको पुर्चौंडी नगरपालिकामा ४ सय ५४ जना प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि छनोट भएका छन् भने पाटन नगरपालिकामा ७ सय ६२ जना छनोट भएका छन् । ७ हजार आवेदन परेकोमा ७ सय ६२ जना छनोट भएका नगरपालिकाका रोजगार संयोजक महेश पन्तले जानकारी दिनुभयो । पाटनमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ३ करोड ९६ लाख बजेट निकासा भएको छ ।

यस्तै, मेलौली नगरपालिकामा २ सय ७१ जना छनोट भएका छन् । १ हजार २४ जनामध्ये २ सय ७१ जना छनोट भएको नगरपालिकाका रोजगार संयोजक सरिता बोगटीले जानकारी दिनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत मेलौलीमा १ करोड ४४ लाख रुपियाँ निकासा भएको छ ।

त्यसै गरी, दशरथचन्द नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ४ सय जनाले रोजगारी पाउने भएका छन् । १ हजार ६ सय ८२ जनामध्ये ४ सय जना छनोट भएका रोजगार संयोजक नन्दराज जोशीले जानकारी दिनुभयो । दशरथचन्द नगरपालिकामा सो कार्यक्रमका लागि २ करोड बजेट निकासा भएको छ ।

डिलाशैनी गाउँपालिकामा ३ सय ३४ जनाले रोजगारी पाउने भएका छन् भने १ करोड ७२ लाख ६८ हजार रुपियाँ निकासा भएको छ । दोगडाकेदार गाउँपालिकामा २ सय ७० जनाले रोजगारी पाउने भएका छन् भने १ करोड ३९ लाख ५७ हजार बजेट निकासा भएको छ ।

शिवनाथ गाउँपालिकामा ४ सय २३ जनाले रोजगारी पाउनेछन् भने २ करोड १८ लाख बजेट निकासा भएको रोजगार संयोजक लक्ष्मीदत्त जोशीले जानकारी दिनुभयो ।

पञ्चेश्वर गाउँपालिकामा ५ सय ३८ जना प्रधानमन्त्री रोजागार कार्यक्रमअन्तर्गत छनोट भएका छन् । सुर्नया गाउँपालिकामा ४ हजार २ सय जनाले आवेदन दिएकोमा ८ सय ३३ जना रोजगारीका लागि छनोट भएका रोजगार संयोजक सुरेन्द्र धामीले जानकारी दिनुभयो । त्यसका लागि ४ करोड ३३ लाख रुपियाँ निकासा भएको उहाँको भनाइ छ ।

सिगास गाउँपालिकामा ४ सय ५१ जनाले रोजगारी पाउनेछन् भने २ करोड १५ लाख ८६ हजार निकासा भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत केही पालिकाहरुले काम शुरु गरिसकेका छन् भने केही पालिकाहरुले योजना छनोट गरिरहेका जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्