ललितपुरमा लगातार स्वास्थ्य शिविर हुने



ललितपुर, (नेस)
ललितपुर महानगरपालिका–१६ र अरनिको समाजले बृहत् निःशुल्क स्वास्थ्य शिविरको लाभ उठाउन संयुक्त आह्वान गरेको छ ।माघ १७ गतेदेखि फागुन २२ गतेसम्म हरेक शनिबार १६ वडाका विभिन्न स्थानमा हुने स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गराउन सार्वजनिक आह्वान गरिएको हो ।

स्वास्थ्य सेवा पहुँच योग्य, सर्वसुलभ र विशेषतः आर्थिकस्तर कमजोर भएका मानिसहरुलाई लक्षित गरी स्वास्थ्य शिविरको आयोजना गरिएको वडाध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो । ‘आ–आफ्नो विषय विज्ञ र अनुभवी चिकित्सकहरुको उपस्थितिमा हुन लागेको शिविरबाट बढीभन्दा बढी लाभ उठाउन आग्रह गर्दछौं।’ –वडाध्यक्ष शाक्यले भन्नुभयो ।

समाजका अध्यक्ष एवं वरिष्ठ न्युरो चिकित्सक डा. सर्वोत्तम श्रेष्ठले विभिन्न स्वास्थ्य समस्या भएका व्यक्तिहरुले आफ्नो स्वास्थ्य परीक्षण गराउन आग्रह गर्दै बिहीबार वडामा आयोजित स्वास्थ्यकर्मीको बैठकमा भन्नुभयो– ‘स्वास्थ्य शिविरबारे आफ्नो साथीभाइ, घर परिवार र छरछिमेकीलाई पनि जानकारी दिन अनुरोध गर्दछु ।’

पहिलो शिविर माघ १७ गते मंगलबजारमा हुनेछ । त्यसमा नशा तथा हाडजोर्नीको परीक्षण गरिनेछ । त्यसै गरी मुटु रोगसम्बन्धी माघ २४ गते बुबहाल, गाबहालमा, फागुन १ गते बाल तथा छाला रोगसम्बन्धी शिविर बालिफल (अशोक हलमा), फागुन ८ गते स्त्रीरोगसम्बन्धी शिविर नागबहालमा, फागुन १५ गते पेट तथा कलेजो सम्बन्धी शिविर दौबहालमा र फागुन २२ गते शनिबार ज्येष्ठ नागरिकहरुको लागि नशा, युरोलोजी, मधुमेह र जनरलसम्बन्धी शिविर सञ्चालन हुनेछ ।

शिविरमा स्वास्थ्यसम्बन्धी आफूलाई भइरहेको समस्याहरुबारे परामर्श लिन सकिने र निःशुल्क औषधीसमेत वितरण गरिने समाजका महासचिव डा. सुशील प्रजापतिले बताउनुभयो । समाजका अनुसार स्त्री रोगसम्बन्धी जाँचमा ४५ वर्षभन्दा माथिका महिलाहरुको पायस्प्समेर निःशुल्क परीक्षण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्