सत्यमबाट फिल्ममा फर्कंदै राजेश हमाल



लोकप्रिय अभिनेता राजेश हमाल लामो समयको अन्तरालपछि फिल्ममा देखिने भएका छन्। हमालले अभिनय गर्ने फिल्म सत्यम्को थिमेट्रीकल स्केच पोस्टर सार्वजनिक गरिएको छ। हमालको थिमेट्रीकल स्केच पोस्टर सार्वजनिक गरेस“गै फिल्मका अन्य कलाकार चयन गर्न अडिसन कल गरिएको छ। पोस्टरमा हमाललाई महानायक लेख्दै उनको स्केच फोटो राखिएको छ।

सत्यम् शीर्षकसँगै राइजिङ अफ दि हिरोज लेख्दै फिल्मको शीर्षक परिभाषित पनि गरिएको छ। सार्वजनिक स्केच पोइन्टब्रेक मिडियाले बनाएको हो भने पोस्टर विजय बस्यालले बनाएका हुन्। निर्देशक शंकर कार्कीको निर्देशनमा बन्ने फिल्ममा हमालसँगै अभिनय गर्ने अनुपविक्रम शाहीको भने नाम मात्र उल्लेख गरिएको छ। फिल्ममा हमाल र शाहीस“गै नायक पल शाह र नायिका उपासना सिंह ठकुरीले पनि काम गर्ने निर्माता रेशम सापकोटाले बताए।

फिल्ममा काम गर्न सहमति जनाउन अभिनेता हमालले आठ महिना लामो समय लिएका थिए। निर्देशक कार्कीका अनुसार हमालकै अनुरोधमा पूरै फिल्म टु डी प्रविधिमा बन्नेछ। सुटिङ फ्लोरमा जानुअघि टु डीमा हेरेर आवश्यक सुधार गरिने निर्देशक कार्कीले बताए।

फिल्ममा हमाल नै मुख्य पात्र (सत्यम्) हुन् भने अनुपविक्रम शाही खलनायकका रुपमा देखिनेछन्। यसअघि फिल्म सौर्यमा एकसाथ देखिएका राजेश र अनुपको अभिनयलाई लिएर अहिले नै चर्चा शुरु भएको छ। लामो समयपछि फिल्ममा फर्कंदै गरेका हमाल र खलभूमिकामा रुचाइएका अनुपको भिडन्तको दर्शकका लागि प्रतीक्षाको विषय बन्ने विश्वास गरिएको छ।

अडिसनबाट अन्य दुई मुख्य पुरुष तथा दुई मुख्य महिला कलाकार छनौट गरिने निर्माण संस्थाले जनाएको छ। फिल्मका लागि अन्य २२ कलाकार पनि अडिसनबाट नै छानिनेछन्। चार मुख्य चरित्र अभिनेता, दुई मुख्य चरित्र अभिनेत्री, तीन सहायक चरित्र अभिनेता, दुई सहायक चरित्र अभिनेत्री, सहायक कलाकार दुई पुरुष तथा दुई महिला साथै दुई जना बाल कलाकार र अन्य छोटो भूमिकाका कलाकारहरु पाँच जनाका लागि अडिसन हुनेछ।

राजधानीमा माघ १९ गते, पोखरामा माघ २३ गते, बुटवलमा माघ २५ गते र झापामा माघ २७ गते अडिसन हुनेछ। रेशम सापकोटाको लेखन र निर्माण रहने फिल्ममा एसोसिएट निर्माता श्याम मल्ल र गणेश पौडेल रहनेछन्। रेशम गौतम र कृष्ण अधिकारी सहनिर्माता रहनेछन्। फिल्मका लागि कुटुम्ब ब्यान्डस“गै योगेश काजी र गणेश पौडेलले संगीत भरेका छन् भने दुई गीतमा रेशम सापकोटा र एक गीतमा विष्णु निरिशको शब्द रचना रहेको छ। फिल्ममा विदुर पाण्डे ‘नवीन’को छायांकन, निर्देशन र द्वन्द्व अष्टमान महर्जनको रहनेछ।

प्रतिक्रिया दिनुहोस्