मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन कार्यालय



नेपाल समाचारपत्र, इलाम ।

आसन्न निर्वाचनलाई लक्षित गर्दै जिल्ला  निर्वाचन कार्यालय इलामले आउँदो माघ १५ देखि २१ गतेसम्म मतदाता नामावली अद्यावधिक (दाबी–विरोधसमेत) कार्यक्रम सञ्चालन गर्ने तयारी भएको छ । आगामी वैशाख १७ र २७ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको पूर्वतयारीस्वरूप निर्वाचन कार्यालयले जिल्लाका १० वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने गरी तयारी थालेको हो ।

यसै क्रममा जिल्लामा रहेका मतदान केन्द्र र मतदानस्थलको पुनरावलोकनसमेत गरेको छ । यसपटकको निर्वाचनमा आठवटा मतदानस्थल थप गर्ने र चारवटा मतदानस्थललाई स्थानान्तरण गर्ने गरी निर्वाचन कार्यालय इलामले निर्वाचन आयोगमा प्रस्ताव पठाएको छ ।

२०७४ सालको निर्वाचनअनुसार इलाममा १ सय ४४ वटा मतदान केन्द्र र २ सय ६६ वटा मतदानस्थल रहेको थियो । निर्वाचन कार्यालयले प्रस्तावित गरेका नयाँ मतदानस्थलमा सन्दकपुर गाउँपालिका–१ मा २ वटा, इलाम नगरपालिका–५ मा १ वटा, माङसेबुङ्ग गाउँपालिका–४ मा १ वटा, रोङ गाउँपालिका–२ र ६ मा १–१ वटा, फाकफोकथुम गाउँपालिका–४, ६ र ७ मा १–१ वटा मतदानस्थल राख्ने प्रस्ताव पठाएको हो ।

यसै गरी, इलाम नगरपालिका–७ मा रहेको बाल मन्दिर आदर्श आविको मतदानस्थललाई महेन्द्ररत्न बहुमुखी क्याम्पस, सोही नपाको वडा नम्बर ९ को पोखरी प्राविको मतदानस्थललाई इलाम उच्च माविमा सार्ने प्रस्ताव गरेको छ । त्यस्तै देउमाई नगरपालिका–२ को सिंहदेवी आविको मतदानस्थललाई रत्नबम प्रतिष्ठानको भवनमा र माङसेबुङ–१ मा रहेको गजुरमुखी महिला सहकारीको मतदानस्थललाई १ नम्बर वडा कार्यालयको भवनमा सार्ने गरी अयोगमा प्रस्ताव पठाएको जिल्ला निर्वाचन कार्यालय इलामका निर्वाचन अधिकारी प्रेमकुमार काफ्लेले जानकारी दिनुभयो ।

यता कार्यालयले निर्वाचनको तयारी स्वरूप जिल्लामा स्थानीय तहको केन्द्रलाई आधार मानेर मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुनेछ । सो कार्यक्रममार्फत मतदाताले मतदाता नामावलीमा आफ्नो नाम विवरण हेर्न एवं अद्यावधिक गर्न, मतदाता नामावलीमा भएका दोहोरोपना वा त्रुटि हटाउने, मतदाता नामावली ऐनले व्यवस्था गरेका कार्यहरु सम्पन्न गरी हालसम्म संकलित मतदाता नामावलीलाई वैधानिकता प्रदानका कार्य गरिने जानकारी काफ्लेले बताउनुभयो ।
कार्यालयले माघ १५ गते मतदाता नामावली प्रकाशन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्