सडक स्तरोन्नतिका लागि तात्यो महानगर



नेपाल समाचारपत्र, वीरगन्ज ।

वीरगन्ज महानगरपालिकाकाले जीर्ण अवस्थामा रहेका सडकहरुको स्तरोन्नति गर्न थालेको छ । गएको शुक्रबारबाट घण्टाघरदेखि पावरहाउस चोकसम्मको पश्चिमी लेन वीरगन्ज महानगरपालिकाले कालोपत्रे गर्न लागेको हो । करिब १ दशमलव ८ किलोमिटर सडक खण्ड जीर्ण अवस्थामा पुगेपछि वीरगन्ज महानगरपालिकाले कालोपत्रे गर्न लागेको हो ।

२ करोड ३ लाख रुपियाँमा कालोपत्रे गर्ने ठेक्का सिद्धबाबा समा जेभी कन्स्ट्रक्सनले पाएको छ । सडक मर्मत सम्भार तथा कालोपत्रेको काम ४५ दिनभित्र सक्नुपर्ने गरी निर्माण कम्पनी र महानगरपालिकाबीच सम्झौता भएको छ । निर्माण कम्पनीले गत शुक्रबारदेखि नै पुरानो पिच उप्काएर काम शुरु गरिसकेको छ ।

सडकको खाल्डाखुल्डी पुर्नका लागि मात्रै महानगरपालिकाले वर्षेनी लाखौं खर्च गर्दै आएको थियो । गतवर्ष मात्रै घण्टाघरदेखि पावरहाउसम्मको सडक मर्मतमा १५ लाख खर्च भएको महानगरपालिकाले जनाएको छ । २०७५ सालको वैशाखमा सडक विभगले पनि सडक टालेको थियो ।

वीरगन्ज महानगरपालिकाका प्राविधिक महाशाखाका प्रमुख इन्जिनियर राकेश साहले सडकको बेस नै खराब भएकोले उप्काएर पिच गर्नुपर्ने अवस्था आएको बताउनुभयो । सडक विभागले मर्मतका लागि चासो नदिएकाले महानगरकै खर्चमा कालोपत्रे गर्न लागिएको वीरगन्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगी बताउनुभयो । उहाँले सो सडक पिच बनेपछि महानगरपालिकाका अन्य जीर्ण सडकहरुको पनि स्तरोन्नतिको कार्य गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्