सुन वितरण गर्ने कोटा प्रणाली खारेज गर्न माग

ललितपुर सुनचाँदी व्यवसायी संघको आठौं साधारण सभा



न्युज अफ नेपाल, ललितपुर ।

सुनचाँदी व्यवसायीहरुले सुन आयातमा लागू हुँदै आएको कोटा प्रणाली खारेज गर्न माग गरेका छन्

ललितपुर सुनचाँदी व्यवसायी संघको शनिबार सम्पन्न आठौं साधारण सभाका सम्बद्ध वक्ताहरुले सो माग गरेका हुन् । उनीहरुले कोटा प्रणाली खारेजीका लागि सरकार समक्ष पैरवी गर्ने बताए । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले निर्वाध रुपमा व्यवसाय सञ्चालनका कोटा बढाउनुपर्ने, निर्यात प्रबद्र्धनका लागि आवश्यक नीतिगत व्यवस्था हुनुपर्ने बताउनुभयो ।

पछिल्लो समय नेपालमा विभिन्न वाणिज्य बैंकमार्फत दैनिक १० किलो सुन आयात हुँदै आएको छ । केही सयम अगाडिसम्म दैनिक २५ किलो आयात हुँदै आएकोमा कोरोना महामारी पछि सरकारले यसलाई दैनिक १० किलोमा सीमित गरेको हो । देशभर दैनिक सरदर ३० देखि ४० किलोसम्म सुनको माग हुने गरेको विभिन्न अध्ययनबाट देखिएको छ ।

महासंघका वाग्मती प्रदेशका अध्यक्ष ज्योति बज्राचार्यले सुन वितरण प्रणाली प्रादेशिक संरचना अनुरुप सन्तुलन हुनुपर्ने माग गर्नुभयो । उहाँले सुन आपूर्ति अव्यहारिक हुँदा व्यवसायीहरु निकै मारमा परेको बताउनुभयो ।

सो अवसरमा ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष रमेशबहादुर शाक्यले मुलुकको मौलिक र विश्वासको भरमा चल्दै आएको सुनचाँदी व्यवसायप्रतिको राज्यको उदासिनताले गर्दा व्यवसाय नै क्रमशः धराशायी हुँदै गएको बताउनुभयो । सो अवसरमा महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य, संघका महासचिव विपिन शाक्य लगायतले कोटा प्रणालीका कारण व्यवसायमा परेको नकारात्मक असरलाई केन्द्रीत गर्दै आ आफ्नो धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्