कोभिड भ्याक्सिन लगाउनेलाई किन आउँछ ज्वरो ?



  • सन्तोष तिमल्सिना, टेक्सास, अमेरिका ।

म अमेरिकाको टेक्सासस्थित सानएनटिनियोमा क्यान्सर अनुसन्धानका विषयमा पीएचडी गर्दै छु। अहिले म अध्ययनरत कलेजमा सबैलाई कोरोनाविरुद्धको खोप दिन थालिएको छ । मैले पनि लगाएँ । आफू र आफूजस्ता नेपालीहरुले कोरोना भाइरसविरुद्धको खोपप्रति आर्जन गरेको अनुभव यहाँ उल्लेख गर्दै छु । खास गरी विदेशस्थित स्वास्थ्य क्षेत्रमा कार्यरत नेपालीले डराई–डराई कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरेका थिए । यसरी डराउनुको कारण परीक्षणकै क्रममा रहेको खोप जोखिम मोलेर स्वीकार गर्नुपर्ने अवस्था हो ।

विश्वमा कोरोनाविरुद्धको खोप शुरु भएको एक महिना भएको छ । अहिले स्वीकृति प्राप्त खोपले ‘आपत्कालीन अवस्थाको स्वीकृति’ मात्र पाएको हो । यस खोपका बारेमा वैज्ञानिकहरुले अझै अध्ययन अनुसन्धान गर्न बाँकी छ । अग्र पंक्तिमा रहेर उपचारमा खट्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सरसफाइमा लागेका कर्मचारी, चालकदललाई कोरोनाविरुद्धको खोप लगाइसकेपछि विद्यार्थी र अन्य कर्मचारीलाई पनि खोप दिन शुरु गरिएको छ ।

ज्येष्ठ नागरिकका साथै सर्वसाधारणलाई पनि खोप लगाउन थालिएको छ । मेरो कलेजमा फाइजर कम्पनीबाट उत्पादिन एमआरएनए भ्याक्सिन लगाइएको छ । मैले दुई डोज पूरा गरें । पहिलोपटक खोप लगाउँदा शुरुको दिनमा टाउको र जिउ दुखेर पूरै शरीर तातेको थियो । चिकित्सकको सल्लाहअनुसार सिटामोल खाएँ । तीन दिनअघि दोस्रो डोज पनि लगाएँ, पहिलोपटक लगाउँदाजस्तै एकदिन टाउको दुख्यो, अहिले सामान्य भइसक्यो ।

अमेरिकामा फाइजर, मोडेर्ना कम्पनीहरुले उत्पादन गरेका र डीएए (आस्ट्रजेनेका कम्पनी)लगायतका भ्याक्सिनहरु प्रयोगमा आएका छन् । फाइजर र मोडेर्नाको भ्याक्सिन उस्तै हो । कम्पनीअनुसार फरकफरक तापक्रममा भण्डारण गरिन्छ । कोरोनाविरुद्धको खोप एकडोज पूरा गर्नका लागि ३ साताको फरकमा दुइपटक लगाउनुपर्छ ।

मैले पीएचडी गर्दै गरेको कलेजका धेरैलाई गम्भीर खालको साइड इफेक्ट देखिएन । खोप लगाएको ठाउँमा केही दुखाइ महसुस भयो र एक–दुई दिनसम्म अलिकति टाउको दुख्ने र कमजोर महसुस हुने सबैको अनुभव रह्यो । दुखाइ कम हुने (पेनकिलर) खाएर सुतेपछि दुई दिनपछि ठीक भयो । पहिलो खोपमा एक जना विद्यार्थीलाई अरुलाई भन्दा अलि बढी रियाक्सन भएको थियो । उहाँ पहिलादेखि नै अलि कमजोर व्यक्ति हुनुहुन्थ्यो । उहाँलाई पनि केही दिनपछि ठीक भयो ।
पहिलो डोजमा भन्दा दोस्रो डोजमा अलि बढी रियाक्सन हुनसक्छ भनिएको थियो ।

ज्वरो आउनुको कारण

टेक्सासकै जुनियर साइन्टिस्ट रामप्रसाद उपाध्याय भन्नुहुन्छ– म आफू पनि कोरोना परीक्षण गर्ने स्वास्थ्यकर्मी भएकाले एक महिना पहिला खोप लिनेको परिणाम हेरेर पहिलो डोज भ्याक्सिन लिएँ । मलाई कुनै साइड इफेक्ट देखिएन ।
उहाँका अनुसार कोरोनाजस्तै भाइरसको महामारी ईस्वी संवत १९१८ अर्थात् १ सय वर्ष पहिला पनि फैलिएको थियो, जसका कारण विश्वमा झन्डै ५ करोड ७० लाख मानिसको मृत्यु भएको थियो ।

गत एक वर्षको अवधिमा कोरोना रोकथामको नाममा विभिन्न मुलुकले एक सयभन्दा बढी विभिन्न खाले औषधि परीक्षणका रुपमा ल्याए । अमेरिकामा मोडेर्ना कम्पनीको मेरिना भ्याक्सिन र पिफाइजर एन्ड बायोन टेक्निक कम्पनीको मेरिना यी दुवै भ्याक्सिन अमेरिकाको प्रत्येक शहरमा प्रयोगमा आइसकेका छन् ।

पहिलो चरणमा आकस्मिक रेस्पोडर, स्वास्थ्यकर्मी, ज्येष्ठ नागरिकलाई लक्षित गरी लगाउन शुरु भइसकेको छ । मोडेर्ना अमेरिका र पिफाइजर जर्मनी र अमेरिकाको कोल्याबरेसनमा उत्पादित यी दुवै खोप एमआरएनए हुन् ।
मैले पनि गत हप्ता मोडेर्ना कम्पनीको एमआरएनए भ्याक्सिन लिएँ । जसमा कोभिड १९ भाइरसको भाइरल प्रोटिन (सानो टुक्रा) साइन्टिफिक तरिकाबाट लिपिड डबल घेराभित्र बन्द गरेर प्याक गरेको हुन्छ ।

जसलाई लिपिड वाई लेयर (दुईवटा खोल)मा हालेर पाखुरामा इन्जेक्सन दिइन्छ । यसलाई माइक्रो बबल पनि भनिन्छ । यो अति सूक्ष्म हुन्छ । यसले कोरोना भाइरसको प्रोटिनलाई सुरक्षितरुपमा सिरिन्जको माध्यमबाट मानिसको शरीरमा रहेको सेलभित्र पु¥याउन मद्दत गर्छ ।

खोप लगाएपछि सेलभित्र लिपिडको घेराबन्दी तोडेर भाइरसको टुक्रा सेलको साइटोप्लाज्मामा देखापर्छ । यसपछि मानव शरीरभित्रको इम्युन सिस्टममा फैलिन्छ र शरीरभित्र घुलमिल हुने क्रममा शरीरभित्रका तत्वहरु सक्रिय हुँदा एक–दुई दिन केही व्यक्तिमा हल्का ज्वरो आउने, शरीर दुख्ने र कमजोर महसुस हुन्छ ।

प्रस्तुति : भगवती तिमल्सिना

प्रतिक्रिया दिनुहोस्