झापा स्पोर्टस अवार्ड आगामी फागुनमा हुने



बिर्तामाड ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) झापाले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेलकुद क्षेत्रको प्रतिष्ठित कार्यक्रम ‘एनएसजेएफ झापा स्पोर्टस अवार्ड २०७६’ यही फागुन २८ गते शुक्रबार हुने भएको छ । मञ्चले आइतबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर अवार्डबारे जानकारी दिएको हो । २०७४ सालदेखि मञ्चले निरन्तर आयोजना गर्दै आएको अवार्डको यो चौथो संस्करण हो ।

बिर्तामोडमा आयोजना हुने अवार्ड २०७६ सालभर उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका सफल खेलाडी र प्रशिक्षकलाई प्रदान गरिने मञ्चका सचिव अर्जुन राजवंशीले जानकारी दिए । अवार्ड फुटबलर स्व. आशिषविक्रम नेम्वाङको स्मृतिमा हुँदै आएको छ । प्रदेश नम्बर १ मै चौथोपटक मञ्चको झापा समन्वय शाखाले अवार्ड कार्यक्रम गर्न लागेको हो । साविक मेची अञ्चलका इलाम, पाचथर, ताप्लेजुङ र झापाका खेलाडी र प्रशिक्षकलाई अवार्ड प्रदान गरिनेछ ।
विगतका वर्षमा जस्तै यसपालि ‘वर्ष उत्कृष्ट खेलाडी पुरुष’, ‘वर्ष उत्कृष्ट खेलाडी महिला’, ‘युवा वर्ष खेलाडी’, ‘वर्ष प्रशिक्षक’, ‘पिपल्स च्वाइस अवार्ड’ र ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ गरी ६ विधामा खेलाडी, प्रशिक्षक, पुराना खेलकर्मीलाई सम्मान गरिने मञ्चका अध्यक्ष हिमाल खरेलले जानकारी दिए ।वर्ष खेलाडी महिला, पुरुष, युवा र प्रशिक्षकका लागि खेलाडीको मनोनयन सार्वजनिक गरिनेछ । यसका लागि मञ्चको खेलाडी छनोट समितिले आवश्यक तयारी शुुरू गरिसकेको बताइएको छ । ‘पिपल्स च्वाइस अवार्ड’ र ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ विजेता भने कार्यक्रमकै दिन घोषणा गरिनेछ ।

विगतमा झैँ वर्ष खेलाडी पुरुष विजेतालाई मोटरसाइकल र महिला विधाका विजेतालाई स्कुटर प्रदान गरिनेछ । युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेतालाई जनही २५ हजार र ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ विजेतालाई नगद ३५ हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गर्ने मञ्चले जनाएको छ । एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले आफ्ना भाइ फुटबलर स्व. आशिषविक्रम नेम्वाङको स्मृतिमा मञ्चलाई एक लाख रुपैयाँ प्रदान गर्दै आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । त्यस्तै, सहारा अटोमोबाइल्स प्रालि र सहारा नेपाल बिर्तामोडले दुई लाख ५० हजार रुपैया“ प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्