मलेसिया नेपालीले बनाए, आफ्नो देश भने बन्न सकेन



म १७ वर्षको उमेर पुगेपछि एकैचोटि ब्रिटिस आर्मीमा भर्ती भएँ । गाउँमा जन्मे–हुर्केको मान्छे, बाहिरी संसार कस्तो हुन्छ केही थाहा थिएन । सुख खोज्न हिँडेको, कहाँको सुख पाउनु? झन् दुःख पो पाइयो । जीवनमा सुखको अनुभव परदेश लागेपछि कहिल्यै मिलेन । ज्यानको बाजी राखेर अरूको देश बनाउने काममा त्यत्रो लागिपरियो तर, आफ्नै लागि चाहिँ केही पनि सोचिएन । अहिलेको मलेसिया छ नि, त्यो वास्तवमा हामीले बनाएको हो । त्यो बेला मलेसियालाई मलाया भन्ने चलन थियो । हामीले लडाइँ गरेर ‘कालिमान्तान’ टापुलाई १९६६ मा मलायामा गाभेपछि त्यो मलेसिया भएको हो । हो, त्यही बेला हो, रामबहादुर लिम्बुले भिक्टोरिया क्रस (भीसी) पाएको ।

हामी गोर्खाली साह्रै सोझो । त्यत्रो धुँवा–बारुदमा ज्यानको बाजी राखेर लडाइँ गर्‍यौँ, अरूको अधिकार दिलाउनका लागि ज्यान दियौं । तर, आफ्नै अधिकार खोज्ने काम हामीले कहिल्यै गरेनांै । आफ्नो अधिकार खोज्ने हामीसँंग बुद्धि पनि थिएन । अहिले बुझ्दा त्यो बेला युद्ध भत्ताबाट हामीलाई वञ्चित गरेको थाहा पायौं । आफूसँंगैको गोरा साथीहरुले वार एलावन्स लिएर हाम्रैअगाडि कोक–जुस किनेर खान्थे । हामीचाहिँ त्यत्तिकै अलमल गरेर बस्थ्यांै । हामीले पनि वार एलावेन्स खोजेको भए पाउने रहेछौं । तर, खोजेनौं । साँच्चै भन्नु पर्दा, हामीसँंग साहस र बुद्धि केही थिएन ।

शासकहरूले हामीलाई मातृभूमिप्रति समर्पित हुनुपर्छ भनेर कहिल्यै सिकाएनन् । त्यसैले देश भनेको के हो– अहिलेको जस्तो ज्ञान हामीलाई त्यो बेला कहाँ थियो र? छँदै थिएन भन्दा पनि हुन्छ । परदेशमा हुँदा घर–परिवारको बेस्सरी याद आइरहन्थ्यो । आमा–बाबाको यादले सताइरहथ्यो । गाउँघर र आफन्तको सम्झना भइरहन्थ्यो । घर–परिवारलाई चिठ्ठी लेख्दा मन बहकिन्थ्यो । तर, देशप्रति सेवा गर्नुपर्छ भन्ने कुरा दिमागमा कहिल्यै आएन । २७ वर्ष नोकरी गरिसकेपछि पेन्सनमा घर गइयो । त्यसपछि फेरि अर्को जीवन शुरू भयो । कहिल्यै नगरेको कामहरु गर्नुपर्‍यो ।

२०४५/४६ सालतिरको कुरो हो, हामी क्याप्टेनहरूको पेन्सन जम्मा २ हजार ६ सय नेपाली रुपियाँ हुन्थ्यो– महिनाको । जाबो त्यति पैसाले के गर्ने, त्यो बेलाको महँगीमा? छोरा–छोरीलाई बोर्डिङ स्कुलमा पढाउनुपर्ने, सबै बोर्डिङ स्कुल महँगो । म्यानेज गर्न जान्ने भूपूहरु गाउँबाट धरानमा पेन्सन थाप्न झर्थे, मिलाएर वर्षमा दुई चोटिसम्म । पेन्सन थापेर घर–परिवार र छोरा–छोरीका लागि एकसरो कपडा किनेर फर्कन्थे । मुख फेर्न एक बोतल बियर खान मन लागे एउटा कुनामा बसेर एक्लै खानुपर्ने समय थियो । त्यो बेलाको समय अहिले जस्तो कहाँ थियो र ? परदेशमा जीवन धेरै समय बिताइयो तर, देखेको र बुझेको कुरा सबै सम्झनामा छैन, भएको पनि सबै दुःख र पीडाको मात्र छ ।

तर, पछिल्लो मेरो परदेश बसाइ भने पहिलाको भन्दा अलिक छ । श्रीमतीलाई बेलायत देखाउनकै लागि २०१४ मा म परदेश लागेको हुँ । हामी बेलायतको ग्रेजमा बस्यौं । पाँच वर्षको मेरो बेलायत बसाइमा सम्झनामा रहिरहने धेरै कुरा छन् । जस्तो कि, पहिला पल्टनमा हुँदा गोराहरुको घर कस्तो हुन्छ होला जस्तो लाग्थ्यो । त्यहाँ पुगेपछि देखियो– उनीहरुको पनि घर हाम्रोभन्दा त राम्रो नहुने रहेछ । कति घरहरू त हाम्रो भन्दा पनि खत्तम । यूकेजस्तो ठाउँमा पनि नेपालीले दुःख पाएको कथा सुनियो । भाषाका कारणले हेपिएर बस्नुपर्ने, आफू ‘को हो ?’ भनेर आफूलाई चिनाउन नसकेको घटना पनि प्रशस्त पाइयो, सुनियो ।

तर, अहिले नेपालीहरूले आफ्नै समाज बनाएर बसेका छन् । हामी बसेको ग्रेजकै कुरा गर्ने हो भने पनि नेपालीहरुले त्यहाँ मिलेर बसौं भन्ने भावना बनाएका छन् । त्यो देख्दा असाध्यै खुसी लाग्छ । अहिलेको टीएनजीसी अध्यक्ष मान राई र अरू साथीहरूले त्यहाँ नेपाली समाज बसाउन धेरै मेहनत गर्नुभएको छ । योभन्दा पहिलाको अध्यक्ष युवराज माबो र उहाँको टिमको पनि ठूलो योगदान छ । भर्खर मात्र साथीहरूबाट थाहा पाएँ– नेपालीहरूले अहिले त्यहाँ कम्युनिटी घर पनि पाएका छन् भनेर । यो सुन्दा मलाई भित्रैदेखि खुसी लागेको छ ।
ग्रेज छोडे पनि म साथीहरूसंँग सम्पर्कमा रहिरहेको छु । साथीहरूले यसरी चासो राखेको पाउँदा मन भित्रैदेखि खुसी मान्छ । म पनि साथीहरूलाई सम्झिरहन्छु । ग्रेजबाहेक अक्सफोर्डतिर पनि म सम्पर्कमा रहिरहेको हुन्छु ।

तर पनि आफ्नो देश भनेको आफ्नै हो, अर्कै किसिमको आनन्द । बेलायतबाट फर्केपछि म आफ्नो पाँचथरको घर दुईपटक पुगिसकें । आफू सानो छँदा घाँस–दाउरा गरेको जंगल, आफूले जोतेको जमिन र हामफालेको कान्ला देख्दा अहिले अचम्म लाग्छ– मैले त्यो बेला कसरी त्यसो गर्न सकें होला भनेर । ती बारीहरू अहिले सबै बाँझै छन् । त्यहाँ एभाकाडो जस्ता फलफूलहरू लगाउने सोच दिमागमा २० वर्ष पहिला किन आएन ? भनेर अहिले म आफैं छक्क पर्छु । अहिले दिमाग फि¥यो, कल्ले गर्ने र खै ? पहिला छोराछोरीहरूलाई केही सिकाइएन । अहिले हाम्रो देश गलत शासकहरूको हातमा छ । परिश्रम गरेर खाने हामी इमानदार मान्छेहरूलाई परदेश नै जानुपर्ने अवस्था छ । हामीलाई जहाँ गए पनि चुनौती त छ नै, आफूलाई कहाँ सहज हुन्छ भन्ने कुरा मात्र हो । सक्षम सरकार र राम्रो शिक्षा भएकाले अहिलेलाई हामी नेपालीका लागि यूके नै ठीक हो भन्ने लाग्छ ।

सानैदेखि म दर्शनशास्त्रमा रुचि राख्ने भएकाले जीवनमा जे भोगियो, त्यसैमा आनन्द लिनुपर्छ भन्ने मेरो मान्यता छ । आखिर हाम्रो जीवन चक्रझैं घुमिरहने चिज हो । ८४ लाख जुनीपछि फेरि मान्छेको जुनी पाइन्छ भन्छन् ।

यूकेमा थोरै समय बसियो तर, मनमा खेलिरहने कुरा धेरै छन् । धेरैसँंग चिनजान भयो । सबैसँंग सुख–दुःख बाँडेर खुब रमाइलो गरियो । ती कुरा सम्झँदा मनमा आनन्द हुन्छ । अहिले मलाई आफ्नो देशकै माया छ, तर सम्झना भने परदेशको पनि उत्तिकै हुन्छ । भविष्य कसैलाई थाहा हुँदैन, को कहाँ पुगिरहेको हुन्छ । यही परदेशी आवाजमार्फत बेलायतको विभिन्न ठाउँमा छरिएर बसेका नेपालीलाई मेरो र मेरो परिवारको तर्फबाट सेवा, सेवारो र नमस्कार भन्न चाहन्छु ।

परदेशी आवाज स्तम्भका लागि डा. नरेश राईले गर्नुभएको कुराकानीमा आधारित । क्याप्टेर रवि राई हाल काठमाडौंको कोटेश्वरका बासिन्दा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्