मृगौला रोगी किशोरीको कथा, कसले सुनिदिने मनको व्यथा



कृष्णउदास खनाल, वीरगन्ज । 

पर्साको वीरगन्ज ठोरी हुलाकी सडक खण्डबाट करिब दुईसय मिटर दक्षिण पर्साको ठोरी गाउँपालिका वडा नम्बर ४ निर्मलवस्तीको स्याउलीवस्तीमा पुगेपछि धुरीमा जस्ता र पाली खरले छाएको सानो झुप्रो घर देखिन्छ । त्यही घरमा चार सन्तानका पिता सोमलाल रुम्बा बिलखबन्धनमा परेको अवस्थमामा भेटिन्छन् । दुबै मृगौला फेल भई शरीर सुन्निएर पीडामा छटपटिएकी १५ वर्षीय छोरी पुष्पा रुम्बाको उपचार गर्न नसकेर चिन्ताले पिरोलिएका रुम्बा सहयोगको अपेक्षमा रहनु भएको छ । कच्ची छाप्रोको घरभित्र पैसाको अभाव भएर छटपटाइरहेकी किशोरी आर्थिक अभावमा मृत्यु पर्खिरहेको दृष्य कारुणिक छ । खुट्टादेखि मुखसम्म सुन्निएर बोल्नै नसक्ने अवस्थामा पुगेकी छोरीको विजोग अवस्था देखेर सोमलाल आफैँ पीडाले आफै बेला बेलामा बेहोस हुने गर्नुहुन्छ । खाने कुरा खुवाउने बित्तिकै छोरीले बान्ता गरेको देख्दा उहाँ आफैँ नै सम्हालिन सक्नुहुन्न ।

खाट समेत नभएर भुइँमा नै ओछ्यान लगाएर उहाँले छोरीलाई राख्नु भएको छ । छोरी आफैँ नै हिँडडुल गर्न सक्नुहुन्न ।उठनेवित्तिकै चक्कर लाग्ने भएकाले अरुको सहारामा मात्र उठ्न उहाँ सक्नुहुन्छ । शरीर सुन्निएकाले असाध्यै पीडा र छटपटी छ, १५ वर्षीय किशोरी रुम्बालाई । अढाई वर्ष अघि शरीर सुन्निएर माइली छोरी अल्पायुमा नै गुमाउनुपरेको पीडा विर्सन नपाउँदै उहाँपछि जन्मिएको साहिँली छोरी पनि शरीर सुन्निएर थला परेपछि सोमलाललाई आकाशले नै थिचेजस्तो भएको छ। माइली छोरीलाई उपचारका लागि भरतपुर अस्पतालमा लगेको भएपनि रोग पहिचान नभएर उहाँको ज्यान गयो। तर, अहिले थला परेकी छोरी पुष्पाको दुबै मृगौलाले काम गर्न छोडेको चितवनमा रहेको चितवन मेडिकल कलेजमा उपचारका क्रममा पुष्टी गरेको सोमलालले सुनाउनुभयो ।

डाक्टरले दुबै मृगौला फेल भयो,अब डायलासिस गर्नुपर्छ भन्नुभयो।’, उहाँले आँशु झार्दै भन्नुभयो,’ ऋण गरेर लगेको रु १ लाख ६२ हजार सकियो, त्यसपछि बाध्य भएर बिरामी छोरी घर ल्याउन पर्यो।’ डाक्टरले बिरामीको अवस्था जटिल भन्दाभन्दै पनि पैसा नभएर घर ल्याउनुपरेको बाध्यता उहाँको छ। जङ्गल फँडानी गरेर बसेको स्याउलीवस्तीमा उनको १ कट्ठा घडेरी र १० कट्ठा ऐलानी जग्गा छ। वन फँडानी गरेर बसेको ठाउँ भएकाले सो ठाउँमा जग्गा किनबेच नै हुँदैन । छोरीको उपचार र घर खर्च चलाउन लिएको ऋणले २ लाख नाघेको रुम्बा सुनाउनुहुन्छ । घरमा बेचेर छोरीको उपचार गर्ने कुनै उपाय नै छैन, पाखुरा नबजारे खान पनि पुग्दैन।, रुम्बाले भन्नुभयो,’डायलासिस निःशुल्क हुन्छ भन्ने सुनेको छु , त्यसका लागि के के गर्नुपर्छ त्यो पनि थाहा छैन्।’ सोमलाललाई १२ वर्ष र ६ वर्षका छोरीहरु र ८ वर्षको एक्लो छोराको लालनपाल्नको जिम्मेवारी त छँदैछ। बिरामी छोरीलाई घरमा छोडेर काममा जान उनी सक्दैनन्,ज्याला मजदुरी नगरे हात मुख जोर्न धौधौ परेको उहाँको पत्नीको गुनासो छ । गत कार्तिक ११ गते सुर्ती रोप्न बारीमा गएकी पुष्पालाई एक्कासि पेट दुख्यो। त्यस अघि छरछिमेकमा समेत अर्मपर्म गर्न जाने मिहिनेती र स्वस्थ उनलाई त्यो दिनदेखि पखाला समेत चल्न थाल्यो। त्यस अघि कहिले पनि बिरामी नभएकी उनलाई एक्कासि पखाला चल्न थालेपछी उहाँको स्थानीय क्लिनकमा उपचार र स्थानीय स्तरमा पाईने आयुर्वेदिक औषधि समेत खुवाईयो।

तरपनि छोरीको अवस्था सुधार नभएपछि छिमेकमा नै ऋण गरेर गत मङ्सिर १९ गते हेटौंडामा उपचारका लागि लगेको रुम्बाले बताउनुभयो । हेटौंडामा उपचार सम्भव नभएपछि त्यहाँबाट सोहीदिन चितवन मेडिकल कलेज भरतपुर लगिएको पुष्पाको दुबै मृगौला फेल भएको डाक्टरले पत्ता लगाउनुभयो ।उहाँको दुबै मृगौला फेल भएकाले डायलासिस गर्नुपर्ने डाक्टरले बताएपनि पैसा लाग्ने भएपछि बाध्य भएर बिरामीलाई घर नै फर्काउनुपरेको सोमलालको पीडा छ। यस अघि पनि छोरी गुमाउनुको पीडा झेलेका उहाँलाई छोरीको उपचार गर्न र उहाँको जीवन रक्षा गर्ने ठूलो ईच्छा छ। भर्खर किशोर अवस्थामा टेकेको छोरी घरभित्र काठ झैं लडिरहेको देख्दा भेट्न आउने जोकोहीलाई पनि उहाँ सुनाउनुहुन्छ । छोरीको उपचार गर्न आफूसँग पैसा नभएकाले मनकारी व्यक्तिहरुलाई आर्थिक सहयोग गरेर आफ्नो छोरीको जीवन रक्षा गरिदिन उहाँले सबैसँग अनुरोध गर्नुभएको छ । वडा ४ मा रहेको नेरा आधारभुत विद्यालयमा कक्षा ७ मा अध्ययनरत पुष्पा पढाईमा पनि राम्रो रहेको विद्यालयका प्रधानाध्यापक गोपिलाल श्रेष्ठ बताउहुन्छ सबैसँग मिलनसार र नियमित विद्यालय आउने छात्राको जीवनरक्षाका लागि उहाँले पनि सबैसँग सहयोगको याचना गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्