कोरोनाविरुद्व सडकमै नाटक



कोरोना संक्रमणविरूद्ध जनचेतना अभिवृद्धिका लागि आरम्भ कलाकारहरुको समूह नामक नाट्य संस्थाले चाँगुनारायण नगरपालिकाका विभिन्न वडामा सडक नाटक कहर प्रदर्शन गरिरहेको छ।

चाँगुनारायण नगरपालिकाको आर्थिक सहयोगमा कोभिड–१९ महामारीको रोकथामका लागि जनचेतना जगाउने उद्देश्यले नाटक प्रदर्शन गरिएको गरपालिकाका प्रमुख सोम मिश्रले बताए। एक घण्टा लामो नाटकमा व्यक्तिगत सरसफाइ, मास्कको अनिवार्य प्रयोग तथा कोरोना रोग र रोकथामबारे सन्देश दिइएको छ। नाटकको निर्देशन आरम्भ कलाकारहरुको समूहका अध्यक्ष प्रभाकर न्यौपानेले गरेका छन्।

नाटकमा रंगकर्मीहरु राजेन्द्र गड्तौला, प्रह्लाद खरेल, राधा श्रेष्ठ, विश्वदीप घिमिरे, राजन भुजेल, सरस्वती अधिकारी र मञ्जु अधिकारीलगायतको अभिनय रहेको छ भने संगीत संयोजन सुरेशचन्द्र न्यौपानेले गरेका छन्। नाटक गत शुक्रबारदेखि प्रदर्शन गर्न शुरु गरिएको नाटक आज मंगलबारसम्म नगरपालिकाका सबै वडामा मञ्चन गरिसकिने नाट्य संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्