आयुषलाई स्वर्ण



काठमाडौं, (नेस)
नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का आयुष ढुंगेलले प्रथम अनलाइन अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन्।
आयुषले यँ–१४ पुरुष एकल पुम्सेमा स्वर्ण जितेका हुन्। ब्राजिल तेक्वान्दो महासंघले आयोजना गरेको प्रतियोगितामा आयुषले खेलेको स्पर्धामा विभिन्न राष्ट्रका ३८ खेलाडीले सहभागिता जनाएको एनटीएका अध्यक्ष अशोक खड्काले जनाएका छन्। ब्राजिल दोस्रो तथा उरुग्वे र अर्जेन्टिना तेस्रो भए।
कोरोना भाइरस (कोभिड–१९) को अवधिमा भएका विभिन्न घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा आयुषले जितेको यो छैठौं पदक हो। यसअघि आयुषले अमेरिकामा भएको प्रतियोगितामा रजत तथा मलेसिया र थाइल्यान्डमा भएका प्रतियोगितामा स्वर्ण जितेका थिए। घरेलु प्रतियोगिताअन्तर्गत कागेश्वरी र काठमाडौं भर्चुअल प्रतियोगितामा स्वर्ण हात पारेका थिए।
प्रतियोगितामा आयुषसहित सुदेशना गुरुङ, प्रगति कुइँकेल र शान्ति राई पनि सहभागी छन्। बाँकी खेलको नतिजा सोमबार आउने बताइएको छ। प्रतियोगितामा एनटीएका अध्यक्ष खड्काले निर्णायकको भँमिका निर्वाह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्