पीएसजीको जितमा डी मारियाको दुई गोल



पेरिस, (एजेन्सी)
एन्जेल डी मारियाले दुई तथा मोइस किनले एक गोल गर्दा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानअन्तर्गत खेलमा रेनेसलाई ३–० ले हराएको छ। किनले पाँच खेलमा पाँचौं गोल गरेका हुन्। यो जितसँगै पीएसजीले २४ अंकसहित अंक तालिकामा दोस्रो स्थानको टिम लिलेमाथि ५ अंकको अग्रता बनाएको छ।
किनको लो प्रहार गोलमा परिणत हुँदा पीएसजीले ११औं मिनेटमा १–० को अग्रता लिएको थियो। त्यसपछि, डी मारियाले दुई गोल थपेर टिमको जित सुनिश्चित गरे। उनले पहिलो हाफमा २१औं मिनेटमा र दोस्रो हाफमा ७५औं मिनेटमा गोल गरेका थिए। अर्जेन्टिनी स्ट्राइकर डी मारियाले योसँगै पीएसजीका लागि सबै प्रतिस्पर्धामा गरी ८६ गोल गरेका छन्।
पीएसजीका प्रमुख दुई स्ट्राइकर क्लियन एमबाप्पे र नेयमार अझै पनि चोटबाट मुक्त भएका छैनन्। उनीहरूविना नै पीएसजीले सानदार जित निकालेको छ। उनीहरूसँगै जुआन बेर्नाट, माउरो इकार्डी, प्रेस्नेल किमपेम्बे, जुलियन ड्राक्सलर, पाब्लो सराबिया र मार्को भेराटी पनि टिमबाहिर रहेका छन्।

प्रतिक्रिया दिनुहोस्