कमल र जितलाई स्वर्ण



नेपाल समाचारपत्र, काठमाडौं
नेपालका कमल श्रेष्ठ र जितबहादुर बोटले काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा स्वर्ण जितेका छन्।
कमलले पुरुष ४० वर्षमुनि र जितबहादुरले पुरुष २९ वर्षमुनिको स्पर्धामा स्वर्ण जितेका हुन्। कमल गत मंसिरमा नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता हुन्। जितबहादुरले भने सागमा टिम पुम्सेमा कांस्य पदक जितेका थिए। कमलको समँहमा नाइजेरियाका अकान्डे सामुयलले रजत तथा मल्लवाराचिंगे नलका सम्पथ र नेपालका रामकुमार पोखरेलले कांस्य जिते।
यसैगरी, जितबहादुरले नेपालका प्रेमबहादुर लिम्बँलाई पछि पारे। नेपालका विवेक राई र मकाउका काई लियोङले तेस्रो स्थानमा चित्त बुझाए। पुरुषकै ५० वर्षमाथिको स्पर्धामा नेपालका ईश्वरमान बज्राचार्यले नेपालकै विजय शाहलाई पछि पार्न सफल भए। महिलाको ५० वर्षमुनिको स्पर्धामा नेपालकी निरुकुमारी मगरले स्वर्ण जितिन्। यस समँहमा उनले मात्रै प्रतिस्पर्धा गरेकी थिइन्।
पुरुष १७ वर्षमुनिको प्रतिस्पर्धामा म्यानमारका साई अङले पहिलो स्थान हात पारे। मलेसियाका एडम सुहाइमीले दोस्रो स्थान हात पार्दा सुरिनेमका यसवीर गोपाल र मलेसियाका याप हानले तेस्रो स्थानमा चित्त बुझाए। महिलाको १४ वर्षमुनिको समँहमा सुरिनेमकी चेएने तिजोई पहिलो, थाइल्यान्डकी कबिनतिडा दोस्रो तथा भारतकी विजिता गोश्वामी र मलेसियाकी नारा नुर युसुफले तेस्रो स्थान हात पारे।
महिला १७ वर्षमाथिको स्पर्धामा भने चारवटै पदक मलेसियाका खेलाडीले जिते। फिलिस चीनले स्वर्ण, इफास हनिफले रजत तथा फराह मदारुस र विलियमिन लिनीले कांस्य जिते। महिलाकै ४० वर्षमुनि मेक्सिकोकी अना इस्पिनोसा पहिलो, नेपालकी रेखमाया गुरुङ दोस्रो र भारतकी अर्चना सामपाङ तेस्रो भए।
पुरुषको ५० वर्षमाथिको प्रतिस्पर्धामा मेक्सिकोका जुआन भेलास्कोले बाजी मारे । उनले नेपालका लक्ष्मणबहादुर ऐरलाई पछि पारेका हुन्। भारतका प्रमित कुमार र नेपालका राजु नगरकोटीले तेस्रो स्थान हात पारे। पुरुषकै २१ वर्षमुनि मलेसियाका चाङ सुनले स्वर्ण जिते। नेपालका लक्ष्मण श्रेष्ठले रजत जित्दा नेपालकै सुजन चौधरी र कृष्णबहादुर बमजनले कांस्यमा चित्त बुझाए। महिलाको २९ वर्षमुनि मलेसियाकी मारर्लियन लियानले बाजी मारिन्। उनले नेपालकी पार्वती गुरुङलाई पछि पारिन्। नेपालकी निर्मला विक र मकाउकी कावा माकले कांस्य पदक हात पारे।

 

 

प्रतिक्रिया दिनुहोस्