बायर्न म्युनिखको जित



बर्लिन, (एजेन्सी)
जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले जितको नतिजा आत्मसात् गरेको छ।
शनिबार राति भएको खेलमा बायर्नले बलियो प्रतिद्वन्दी बोरुसिया डर्टमन्डलाई ३–२ को गोल अन्तरले पराजित गरेको हो। बायर्नले डर्टमन्डलाई उसैको घरेलु मैदानमा हराउन लिरोए सानेले निर्णायक गोल गरेका थिए। आफ्नो घरेलु मैदानमा डर्टमन्डले शुरुआती अग्रता लिए पनि जोगाउन नसक्दा हारको सामना गर्नुपरेको थियो। खेलको ४५औं मिनेटमा कप्तान मार्को राफाएल गुरेरियोको उत्कृष्ट पासमा रिउसले वानटचमै आकर्षक गोल गरेका थिए।
तर, घरेलु टोलीको अग्रता धेरैबेर टिक्न सकेन। पाहुना टोली बायर्नले पहिलो हाफको इन्जुरी समयमा उत्कृष्ट फ्रिकिक गोल ग¥यो। त्यसपछि, दोस्रो हाफमा बायर्नका लागि लेवान्डोस्कीले हेडिङमार्फत उत्कृष्ट गोल गरेर टिमलाई २–१ को अग्रता दिलाए। उक्त गोलमा लुकास हर्नान्डेजले पास दिएका थिए। त्यसपछि, खेलको ८०औं मिनेटमा बायर्नका लागि लिरोए सानेले लेवान्डोस्कीको पासमा गोल गर्दै टिमलाई ३–१ को स्थितिबाट सहज जिततर्फ अघि बढाएका थिए।
तर, डर्टमन्डले भने खेलमा फर्किन संकेत देखाएको थियो। खेलको ८३औं मिनेटमा घरेलु टोलीका लागि युवा स्टार अर्लिङ हल्यान्डले उत्कृष्ट गोल गरेपछि खेललाई ३–२ मा छोट्याएका थिए। तर, बाँकी समयमा डर्टमन्डले थप गोल गर्न नसक्दा खेल बायर्नले जित्यो। यो जितपछि बार्यनले ७ खेलपछि १८ अंक जोडेको छ। पराजित डर्टमन्डको भने समान खेलबाट १५ अंक रहेको छ।

प्रतिक्रिया दिनुहोस्