नेपालगन्ज म्याराथनबाट ओलम्पिकका लागि खेलाडी छनोट हुने



बाँके, (नेस)
नेपालगन्ज म्याराथनबाट ओलम्पिकमा सहभागी हुने खेलाडीको छनोट हुने भएको छ।
क्रियटिभ ह्यान्ड्सले आगामी मंसिर ६ गते आयोजना गर्ने छैठौं धारा नेपालगन्ज म्याराथनबाट ओलम्पिकमा सहभागी खेलाडीको छनोट हुने भएको हो।
कोरोनाका कारण आठ महिनादेखि खेलकुद ठप्प भइरहेका बेलामा नेपालगन्जमा हुन थालेको नेपालगन्ज म्याराथनलाई नै ओलम्पिक छनोटको आधार बनाउन थालिएको छ। मे महिनामा जापानमा ओलम्पिक हुँदै छ।
नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले मंसिर ६ गते हुने नेपालगन्ज म्याराथनमा प्रथम हुने खेलाडी नै टोकियो ओलम्पिकमा सहभागी हुने जानकारी दिए।
आयोजक क्रियटिभ ह्यान्ड्सले आइतबार गरेको पत्रकार सम्मेलनमा बोल्दै शाहले नेपालगन्ज म्याराथनलाई अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता गराउन लागिपर्ने प्रतिबद्धता गरे। ‘नेपालगन्ज म्याराथन ‘क’ वर्गको म्याराथनमा पर्छ। अझ यसलाई नेपाल र भारत दुवैतिर आधा–आधा दौडिने बनाउन सकेमा ऐतिहासिक हुन्छ, शाहले सुझाव दिए, यसका लागि सक्दो सहयोग गर्छु।’
टाइटल एस्पोन्सर केएल दुगड गु्रपका महाप्रबन्धक प्रदीप छाजेड, सहप्रायोजक आशीर्वाद पेन्ट्सका अध्यक्ष किरण कार्की र राष्ट्रिय वाणिज्य संघका प्रदेश प्रमुख आनन्द सुवेदीले नेपालगन्ज म्याराथनसँगको सहकार्यलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।
क्रियटिभ ह्यान्ड्सका अध्यक्ष टिएस ठकुरीले यसपालि दुईवटा मात्रै इभेन्ट सञ्चालन हुने जानकारी दिए। उनका अनुसार, फनरनका रूपमा कर्पोरेट रन पनि समावेश गर्ने तयारी रहेको छ। यसअघि आधा दर्जन इभेन्ट हुन्थे।
नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बँढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भँमिराज राई र सेनाका नवराज साउद विजेता भएका थिए। त्यस्तै, महिला हाफम्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइन्। गत संस्करणमा सेनाकी पँर्णलक्ष्मी न्यौपाने प्रथम भएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्