बार्सिलोनाको सहज जित



लन्डन, (एजेन्सी)
स्पेनिस ला लिगामा बार्सिलोनाले सहज जित निकालेको छ। नयाँ सिजन शुरू भएयता पेनाल्टीमार्फत मात्र गोल गर्दै आएका लिओनल मेसीले दुई गोल योगदान गरेपछि बार्सिलोनाले रियल बेटिसलाई ५–२ गोल अन्तरले हराएको हो।

शनिबार राति भएको खेलमा बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउ रंगशालामा पाहुना टोली बेटिस खेलको ६०औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो। त्यस्तै, बार्सिलोनाका फ्रेन्च फरवार्ड एन्टोनी ग्रिजम्यानले पनि पेनाल्टीमा गोल गर्नबाट चुकेका थिए। दोस्रो हाफको शुरुआतमै मैदान प्रवेश गरेका कप्तान मेसीले एक पेनाल्टीसहित दुई गोल गरे। मेसीले पेनाल्टी गोलको यात्रालाई यो खेलमा पनि निरन्तरता दिए। उनले बेटिसविरुद्ध पहिलो गोल गरेर लगातार पाँचौं गोल पनि पेनाल्टीबाटै गरेका थिए।

प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाका लागि खेल शुरू भएको २२औं मिनेटमा फ्रेन्च विंगर उस्मान डेम्बेलेले उत्कृष्ट गोल गरेका थिए। उनले बेटिसका डिफेन्डरलाई छलाउँदै हानेको प्रहारमा बलले सोझै जाली चुमेको थियो। त्यसपछि, पहिलो हाफको थप समयमा बेटिसका लागि एन्टोनियो सनाब्रियाले उत्कृष्ट गोल गर्दै खेल १–१ को बराबरी बनाएका थिए। यता, बार्सिलोनाका एन्टोनी ग्रिजम्यानले ३३औं मिनेटमा हानेको पेनाल्टी प्रहार बेटिसका गोलकिपर ब्राभोले उत्कृष्ट बचाउ गरेका थिए। बेटिसका खेलाडीले अन्सु फातीलाई डिबक्समा लडाएपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो।
.

पहिलो हाफ १–१ मा सकिए पनि दोस्रो हाफमा बार्सिलोना पूर्णतः हावी रह्यो। खेलको ४९औं मिनेटमा बार्सिलोनाका लागि पहिलो हाफमा पेनाल्टी मिस गरेका ग्रिजम्यानले खाली पोस्टमा गोल गरे। जोर्डी अल्बाको क्रस पासमा उनले गोलकिपरविनाको खाली पोस्टमा गोल गरेका थिए। त्यसपछि, ६०औं मिनेटमा बेटिसका खेलाडी आइसा मान्डीले रातो कार्ड पाए। डिबक्सका बार्सिलोनाका खेलाडीले लामो दँरीबाट हानेको प्रहार रोक्ने क्रममा ह्यान्ड बल भएपछि रेफ्रीले उनलाई भिएआरमार्फत सोझै रातो कार्ड दिएर बार्सिलोनालाई पेनाल्टीको मौका दिएका थिए, जसमा कप्तान मेसीले सहजै गोल गर्दै खेल ३–१ बनाए। सो गोल मेसीको लगातारको पाँचौं पेनाल्टी गोल थियो।

त्यसपछि, खेलको ७३औं मिनेटमा बेटिसका खेलाडी लोरेन्जो जेसस मोरोन गार्सियाले क्रस पासमा सुन्दर गोल गरेपछि खेल ३–२ मा छोट्याएर खेलमा टिमलाई जीवितै राखेका थिए। तर, १० खेलाडीमा झरेको बेटिसले अन्तिम समयमा बार्सिलोनाको दबाब थेग्न सकेन। बार्सिलोनाका लागि खेलको ८२औं मिनेटमा मेसीले नै सर्जी रोबेर्टोको पासमा सुन्दर फिनिसङमा गोल गरेपछि बार्सिलोना जिततर्फ अघि बढेको थियो। त्यस्तै, ९०औं मिनेटमा बार्सिलोनाका लागि युवा खेलाडी पेड्रीले गोल गरेपछि बार्सिलोनाले खेल ५–२ ले जित्यो। यो जितपछि बार्सिलोनाले अंक तालिकामा सुधार गरेको छ। बेटिसलाई हराएसँगै बार्सिलोनाले ७ खेलपछि कुल ११ अंक जोडेको छ। यता, पराजित बेटिसको ९ खेलपछि १२ अंक रहेको छ।

स्पेनिस लिगकै अर्को खेलमा पोर्चुगिज युवा स्टार जुआओ फेलिक्स चम्किँदा एथ्लेटीको मेड्रिडले पनि फराकिलो गोल अन्तरको जित निकालेको छ। घरेलु मैदानमा एथ्लेटीकोले यसै सिजन शीर्ष लिगमा बढुवा भएको क्याडिजमाथि ४–० को एकपक्षीय जित निकालेको हो। एथ्लेटीकोलाई जिताउन फेलिक्सले दुई गोल र एक असिस्ट गरे। थप एक–एक गोल भने लुइस सुवारेज र मार्कोस लोरेन्टोको नाममा रह्यो।

एथ्लेटीकोका लागि खेलको आठौं मिनेटमै फेलिक्सले पहिलो गोल गरेर घरेलु टोलीलाई शुरुआती अग्रता दिलाएका थिए। त्यसपछि, खेलको २२औं मिनेटमा एथ्लेटीकोले दोस्रो गोल ग¥यो। यसपटक लोेरेन्टोले डिबक्सभित्रबाट क्याडिजका डिफेन्डरलाई छलाउँदै लो सटमा उत्कृष्ट गोल गरेका थिए।
खेलको ५१औं मिनेटमा सुवारेजले फेलिक्सको उत्कृष्ट पासमा बक्सभित्रबाट सजिलै गोल गरेर अग्रता बढाएका थिए। खेलको ९०औं मिनेटमा फेलिक्सले एन्जल कोरेरियाको पासमा व्यक्तिगत दोस्रो गोल गरेपछि खेल एथ्लेटीकोले ४–० ले जित्यो। यो जितपछि एथ्लेटीको ७ खेलबाट १७ अंक रहेको छ। पराजित क्याडिजको भने १४ अंक छ।

प्रतिक्रिया दिनुहोस्