अफ्रिका फेस्टिवलमा संगीताको आइसक्रिम



यौन उत्पीडनका विषयमा कथा काठमाण्डु नामक फिल्म निर्देशन गरी म्युजिक भिडियोबाट फिल्म निर्देशनमा डेब्यु गरेकी सञ्चारकर्मी तथा निर्देशक संगीता श्रेष्ठद्वारा निर्देशित लघु फिल्म आइसक्रिम अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिवल–२०२० को छनोटमा परेको छ। बाल यौन शोषणमा आधारित योफिल्म फेस्टिवलको पहिलो दिन भोलि मंगलबार प्रदर्शन हुँदै छ।

फेस्टिवल भोलि मंगलबारदेखि आगामी ८ तारिकसम्म चल्नेछ। कोरोना महामारीका कारण भर्चुअलरूपमा हुने फेस्टिभलमा पहिलो दिन नै आप्mनो फिल्म स्क्रिनिङ हुने श्रेष्ठले जानकारी गराइन्। ‘अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा प्रदर्शनका लागि छनोट हुँदा एकदम खुसी छु’, संगीता भन्छिन्– ‘मैले उठान गरेको विषय संसारभर पुग्दै छ। निकै उत्साहित पनि छु ।’ उनको लघु फिल्मले सडकमा पैसा माग्दै हिँड्ने एक बालिकाको कथा बोल्नेछ।

समाजको अँध्यारो पक्षलाई समेटेर लघु फिल्म तयार पारेका जनाउँदै संगीता भन्छिन्– ‘यो फेस्टिवलले पनि समाजको अँध्यारो पाटो उजागर गर्ने फिल्महरु खोजेको थियो। त्यसैले सहभागी गराएकी हुँ। आइसक्रिमले हाम्रो समाजका छोरीहरु बलात्कार, यौन शोषणमा कसरी पर्छन् भन्ने देखाएको छ। हाम्रा छोरीहरुलाई हामीले यस किसिमको अपराधबाट बचाउनुुपर्छ भन्ने उद्देश्यले फिल्क बनेको छ।’

संगीताका अनुसार यो आइसक्रिम अमेरिकाको बेस्ट अफ ल्याटिन अमेरिका सर्ट फिल्म फेस्टिवल, यूकेको फस्ट टाइम फिल्ममेकर सेसन्स, इटालीको इन्टिमलेन्ट फिल्म फेस्टिवल र नेपालको मानव अधिकार फिल्म फेस्टिवल–२०२० मा पनि छनोट भएको छ। यसको पहिलो स्क्रिनिङ भने अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभलमा हुने भएको हो। ९ मिनेटको फिल्ममा योगिशा खत्रीले मुख्य भूमिका निर्वाह गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्