सुल्झियो पायल र ऋचाको विवाद



बलिउड अभिनेत्री पायल घोषले निर्देशक अनुराग काश्यपलाई यौन उत्पीडनको आरोप लगाएपछि शुरु भएको पायल र अर्की अभिनेत्री ऋचा चड्डाबीचको विवाद अब सुल्झिएको छ।
अनुरागले भनेको जुनसुकै कुरा मान्न तयार हिरोइन भन्दै मिडियासामु पायलले ऋचाको नाम लिएपछि ऋचाले पायलविरुद्ध बम्बे हाइकोर्टमा मानहानिको मुद्दा दायर गरेकी थिइन्। यस मामलामा पायलले ऋचासँग बिनासर्त माफी मागेकी छन्। ऋचा र पायलले बुधबार आफूूहरुले आपसी कुराकानीमा विवाद सुल्झाएको बताएको वेब दुनिया डट कमले जनाएको छ। हाइकोर्टले उनीहरुलाई आपसी सहमतिमा विवाद अन्त्य गर्न भन्दै दुई दिनको समय दिएको थियो। हाइकोर्टले पायलले ऋचासँगको बिनासर्त माफिनामा स्वीकार गरेको छ। जसमा पायलले ऋचाविरुद्ध दिएको सबै प्रकारका अपमानजनक बयान फिर्ता लिने उल्लेख गरिएको छ। यस मामलामा दुवै पक्षले एक–अर्काविरुद्ध कुनै पनि मुद्दा दर्ता नगर्ने र कुनै पनि क्षतिपूर्ति माग नगर्ने सहमति भएको समाचारमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्