दिगो शान्ति सुरक्षाका लागि प्रहरी–जनता साझेदारी



होविन्द्र बोगटी प्रमुख जिल्ला प्रहरी कार्यालय, स्याङ्जा

होविन्द्र बोगटी
प्रमुख जिल्ला प्रहरी कार्यालय, स्याङ्जा

गत भदौ १० गतेदेखि जिल्ला प्रहरी कार्यालय स्याङ्जामा एसपी होविन्द्र बोगटीले प्रमुखका रूपमा कार्यभार सम्हाल्नुभएको छ । विसं २०५८ सालमा प्रहरीमा भर्ना भएका बोगटी डीएसपी हुँदा तीनवटा जिल्ला काठमाडौं, वीरगन्ज र बाग्लुङमा सेवारत हुनुहुन्थ्यो । एसपीमा बढुवा भएपछि बोगटीले जिल्ला प्रहरी कार्यालय स्याङ्जामा प्रहरी प्रमुख भएर काम गरिरहनुभएको छ । प्रस्तुत छ, उनै बोगटीसँग जिल्लाको सुरक्षा चुनौती, योजनाबारे नेपाल समाचारपत्रका स्याङ्जा संवाददाता अमृत अर्यालले गरेको कुराकानी ः

लकडाउन खुलेपछि जिल्लाको ट्राफिक र सवारीसाधनको अवस्था कस्तो पाउनुभएको छ ?
लामो लकडाउन खुलेपश्चात् स्याङ्जा भित्रने तथा बाहिरिने गाडीको संख्या दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । सवारीसाधनहरूमा तोकिएको भन्दा बढी यात्रु राख्ने, मास्क स्यानिटाइजर प्रयोग नगर्ने समस्या देखिएको छ । ग्रामीण इलाकामा चल्ने गाडीमा बढी यात्रु राख्दा कोरानाको संक्रमण बढ्ने जोखिम देखिन्छ । अब ट्राफिक प्रहरीसँग संयुक्त चेक प्वाइन्ट राखेर दुर्घटना नियन्त्रण तथा कोभिडको मापडण्डमा गाडी चलाए÷नचलाएको अनुगमन तथा कारबाही गरिनेछ ।

हाल कोभिड–१९ को संकटका बेला प्रहरीलाई समस्या के–के छन् ?
संसारभरि नै महामारिका रूपमा फैलिएको कोरोना भाइरसको संकटले नेपाल प्रहरीलाई पनि दैनिक कामकाज तथा कानुन कार्यान्वयन गराउन समस्याचाहिँ परेको छ । त्यसका बाबजुद पनि उच्च मनोबलका साथमा २४सै घण्टा प्रहरी कार्मचारी कोरोनाको भय नमानी यसको संक्रमण फैलनबाट रोक्न अहोरात्र खटिएका छन् । कानुन कार्यान्वयनको सिलसिलामा मानिस पक्राउ गर्दा संक्रमित मानिस पनि पक्राउ हुने जोखिम प्रहरीलाई रहन्छ तर पनि संक्रमणको प्रवाह नगरी सुरक्षाका उपाय अपनाउँदै कानुन कार्यान्वयन गराउन प्रहरी कटिबद्ध भएर लागेको छ । उदाहरणस्वरुप हामीले १९ जना व्यक्तिहरु पुतलीबजार जुवा खालमा नगद र तास सहित पक्राउ गरी मुद्दा चलायौं । पछि १९ जनालाई नै कोरोना संक्रमणको पुष्टि भयो । स्थानीयस्तरमा केही व्यक्तिहरुले प्रहरीले हाम्रा जुवाडेहलाई कोराना सा¥यो भनेर धेरै प्रतिक्रिया आए प्रहरीको विरोधमा आवाज उठाएर राजनीति गर्ने प्रयास पनि भयो तर पछि कन्ट्रयाक्ट ट्रेसिङ गर्दा जुवा खेलाउने व्यक्तिको घर–परिवारका सदस्यहरु पनि संक्रमित देखिएपश्चात पत्ता लाग्यो कि जुवा खालबाट कोरोना संक्रमण प्रहरीको थुनुवाकक्षसम्म आएको रहेछ । प्रहरीले समयमा नियन्त्रणमा नलिएको भए समाजमा फैलने रहेछ । हामीले पुनः हाम्रा प्रहरी र अन्य थुनुवाहरुलाई जाँच गराउँदा सबैको नेगेटिभ आयो । तसर्थ प्रहरीलाई कोरोनाको कारणले कानुन कार्यान्वयन गराउन केही समस्या भए तापनि हामीले खटेर विभागीय नीति–निर्देशनअनुसार काम गरिरहेका छौं ।

प्रहरी र जनताको सम्बन्धमा कसरी सुमधुरता ल्याउन सकिन्छ ?
हामी प्रहरी जनताको शान्ति सुरक्षाका लागि खटिएका हौं । हामीले आम जनतालाई गर्ने व्यवहार शिष्ट हुनुपर्दछ । हामी कानुन कार्यान्वयन गराउने क्रममा निर्मम तरिकाले पक्षपात नगरी सबैलाई समानरूपमा प्रस्तुत हुनुपर्दछ । जनताको प्रहरीप्रति विश्वास जित्नुपर्दछ । समुदाय प्रहरी साझेदारीमार्फत आम सर्वसाधरणको घरदैलोमा पुगी शान्ति सुरक्षासँग सम्बन्धित समस्या गुनासोको सुनुवाइ गर्नु हाम्रो कर्तव्य हो । प्रहरी र जनताले एक–अर्काको विश्वास जित्ने गरी काम गरेमा सम्बन्ध सधैं सुमधुर बनाउन सकिन्छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका आगामी योजना के–के छन् ?
समग्ररूपमा जिल्लाको शान्ति सुरक्षालाई चुस्त र दुरुस्त बनाउँदै स्थानीय निकाय तथा सरोकारवालासँग व्यावसायिक हिसावले पेसागत सहकार्य गर्ने । अपराध अनुसन्धानलाई आधुनिकीकरण गर्ने । बढीभन्दा बढी सीसी क्यामेरा जडान गर्ने, वन पैदवार तथा चोरी निकासी बन्द गर्ने, फरार प्रतिवादीहरुलाई कानुनी दायरामा ल्याउने, पुराना मुद्दाहरुको अनुसन्धान गर्ने तथा आन्तरिक शुद्धीकरण गर्दै संगठनको लक्ष्यअनुसार अगाडि बढ्ने योजना रहेको छ ।

जिल्लाको सुरक्षा चुनौती कस्तो पाउनुभएको छ ?
स्याङ्जाको शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ । बेला– बेलामा हुने फौजदारी कसूरहरुलाई राजनीतिक रंग दिने प्रयास हुँदा केही कठिनाई भए तापनि नेपाल प्रहरीले फौजदारी कसूरअन्तर्गतका घटनाहरुलाई छलफल तथा मिलापत्रबाट सामाधान नगरी कानुनी दायराबाट नै निकास निकाल्ने कार्य यस कार्यालयबाट हुने हुँदा आगामी दिनमा त्यस्ता समस्या आउँदैनन् भन्ने अपेक्षा गरेको छु । पहाडी इलाका भएकाले घटनापश्चात् प्रहरी पुग्न समय २÷३ घण्टासम्म लाग्ने हुँदा केही कठिनाइ भए पनि हामीले घटनास्थलबाट कसूरदार भाग्न उम्कन नपाउने गरी सुरक्षाको व्यवस्था मिलाएका छौं ।

तपाईंको सुरक्षा रणनीतिमा के–के प्राथमिकतामा छन् ?
हाम्रो सुरक्षा रणनीतिमा गुन्डागर्दी तथा अराजक गतिविधिको नियन्त्रण, कारबाही, फरार अपराधि पक्राउ, समुदाय प्रहरी साझेदारीअन्तर्गत कार्यक्रम, आत्महत्या न्यूनीकरण गर्न विशेष कार्यक्रम, अवैध हातहतियार, वन्यजन्तु तथा वन पैदवार अतिक्रमण नियन्त्रण र वर्तमान प्रहरी महानिरीक्षकले अवलम्बन गर्नुभएको संगठनको उद्देश्य प्राप्तिका लागि गरिने विभिन्न निर्देशनको कार्यान्वयन नै प्राथमिकतामा राखेर अगाडि बढिनेछ ।

राजनीतिक दबाब कत्तिको आउँछ ?
मैले कुनै राजनीतिक दबाब महसुस गरेको छैन । राजनीतिमा आबद्ध व्यक्तित्वहरुले कुनै कानुन कार्यान्वयनका कुरा गर्नुहुन्छ भने त्यसलाई हामीले दबाब भन्दा नि सूचनाको हिसावले बुझ्नुपर्दछ । फौजदारी कसूरमा छलफल मिलापत्र हुँदैन कानुन बमोजिम हुन्छ । मिलापत्रका लागि प्रहरीकोमा होइन सम्बन्धित पालिकामा जाने हो । निष्पक्ष भएर कोही कसैको प्रभावमा नपरी काम गरेपश्चात् दबाब तथा प्रभाव भन्ने कुराले खासै महत्व राख्दैन ।

प्रहरीले सञ्चालन गरिरहेको प्रहरी मेरो साथी, मुस्कानसहितको प्रहरी सेवा, नमस्कार अभियान जस्ता कार्यक्रम प्रभावकारी देखिएन भन्ने छ, तपाईंको कार्यकालमा यहाँका जनताले त्यो महसुस गर्न पाउँछन् ?
विभिन्न अभियान होलान् तर व्यवहारमा शिष्टता र सरलता कानुन कार्यान्वयनमा कठोरता नै हाम्रो वास्तविकता हो । प्रहरीले आफ्नो गलत आचरण र व्यवहारमा सुधार गर्नुपर्दछ । महिला बालबालिका, जेष्ठ नागरिकलाई प्रथामिकतामा राखेर काम गरिन्छ । प्रहरीको आचरण व्यवहारमा सुधार र कानुन कार्यान्वयनमा जनताले महसुस गर्ने किसिमले काम गरिन्छ ।

स्याङ्जाको जनता तथा विभिन्न पेसागत व्यक्तिले तपाईंबाट के अपेक्षा गर्ने ?
मबाट पेसागत तथा व्यावसायिक सहयोग हुनेछ । शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि प्रहरीलाई सूचनाको अवश्यकता पर्दछ तसर्थ स्थानीय जनतासँग सहकार्य गर्दै आपराधिक कामको सूचना हाम्रो हटलाइनमा वा सीधै कार्यालय प्रमुखको मोबाइलमा दिँदा सूचनाको गोप्यता कायम रहनेछ ।

अन्त्यमा नेपाल समाचारपत्रमार्फत आम नागरिकलाई के भन्न चाहनुहुन्छ ?
शान्ति सुरक्षा कायम गर्नु हामी सबैको कर्तव्य भएकाले प्रहरी र जनतासँग व्यावसायिक सहकार्य गर्दै स्याङ्जालाई अपराधरहित नमुना जिल्लाको हिसावले चिनाउनुपर्दछ । समाजमा हुने फौजदारी घटनाहरुलाई कसैले पनि राजनीतिक रंग नदिई आफ्नो र अर्का नभनी कानुनी दायरामा ल्याउन सबै पक्षबाट सहयोग हुनुपर्दछ । अहिले देश नै कोरोनाको महामारीसँग जुधिरहेका हुँदा हामी पनि यसको संक्रमणबाट बच्न थप सजक हुनुपर्दछ । मास्क, स्यानिटाइजरको नियमित प्रयोग गरी बालबालिका, वृद्धवृद्धा तथा दीर्घ रोगीहरुलाई संक्रमणबाट टाढा राख्नुहुन अनुरोध गर्न चाहन्छु । तपाईं हामी सबैको सकारात्मक प्रयासले कोरोनाविरुद्धको लडाइँ जित्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्