समुद्री तटमा फसेका सयौं ह्वेलको मृत्यु



क्यानबेरा, (एजेन्सी)

अस्ट्रेलियाको दक्षिणी इलाकामा कम्तीमा ३ सय ८० पाइलट ह्वेल माछाको मृत्यु भएको छ। यी भीमकाय माछालाई बचाउने प्रयासमा लागेका उद्धारकर्मीले केही ह्वेललाई मात्र बचाउन सकेका छन्।

समूहमा आउने ह्वेल माछाको करिब पूरै झुन्ड नै समाप्त भएको बताइएको छ। यी माछा तैरिँदै तास्मानियाको तटमा आएका थिए र त्यहीं पानीको छालमा फसेका हुन सक्ने बताइएको छ। माछाहरू यति ठूलो संख्यामा तटमा आउनुको कारण भने थाहा हुन सकेको छैन।

पाइलट ह्वेल समुद्रमा पाइने डल्फिन माछाको एक प्रजाति हो। यो ७ मिटर लामो र ३ टनसम्मको तौल हुने गर्छ। मार्की हार्वर नामको इलाकामा करिब ४ सय ६० पाइलट ह्वेल समुद्रको छालमा फसेको बताइएको छ। उद्धारकर्ताले केही माछालाई मात्र बचाउन सके। तास्मानियाको वन्यजीव सेवामा आबद्ध अधिकारी निक डेकाले ३ सय ६० ह्वेल माछाको मृत्यु भएको जनाएका छन्।

डेकाले भने– ‘समुद्रमा हाल पनि ३० ह्वेज जीवित छन् र हामीले ५० वटालाई जीवितै उद्धार गरेका छौं। ह्वेल माछा सबैभन्दा पहिला सोमबार त्यहाँ देखिएको थियो। त्यहाँको केही भाग उठेकोले डुंगाको माध्यमबाट मात्र त्यहाँ जान सकिन्छ। अस्ट्रेलियमा ह्वेल माछा तटसम्म पुगेको यो सम्भवतः सबैभन्दा ठूलो घटना हो। करिब ६० प्रशिक्षित उद्धारकर्मीले ती माछालाई बचाउने प्रयास गरिरहेका छन्।’

अझै पनि ३० ह्वेल माछा फसिरहेको र तिनलाई बचाउने प्रयास भइरहेको उद्धारकर्ताले जानकारी दिएका छन्। यद्यपि, पानी अत्यन्त चिसो भएकोले उद्धार कार्यमा बाधा भइरहेको छ। उद्धारकर्ता सिफ्टमा काम गरिरहेका छन्। ती ह्वेल माछा करिब १० किलोमिटरको इलाकामा फसेकाले उद्धारकर्ताले पनि आफ्नो अभियानको दायरा बढाएका छन्।

प्रतिक्रिया दिनुहोस्