रहेनन् भूपेश पाण्ड्या



बलिउड अभिनेता भूपेश पाण्ड्याको निधन भएको छ। आयुष्मान खुरानाको पहिलो फिल्म विक्की डोनरमा गरेको यादगार अभिनयका कारण चिनिएका अभिनेता पाण्ड्या फोक्सोका क्यान्सरसँग जुधिरहेका थिए।

क्यान्सरको चौथो अवस्थामा रहेका उनको अपोलो अस्पतालमा उपचार क्रममा निधन भएको अमर उजालाको अनलाइन संस्करणले जनाएको छ। भारतको नेसनल स्कुल अफ ड्रामाका पूर्वविद्यार्थी पाण्ड्याको निधनको खबर सो स्कुलको आधिकारिक ट्विटर अकाउन्टमा जानकारी गराइएको छ।

ट्विटरमा लेखिएको छ– ‘विख्यात रगंकर्मी भूपेशकुमार पाण्ड्याको आकस्मिक निधनको खवर अत्यन्त दुःखद छ। हामी उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछांै। ईश्वरले दिवंगत आत्मालाई शान्ति प्रदान गरून्।’

केही दिनअघि मात्र भूपेशले आफ्नो उपचारको लागि २५ लाख रुपियाँ आवश्यकता रहेको जनाएका थिए भने बलिउडका केही कलाकारले उनलाई आर्थिक सहयोग गर्नुका साथै सहयोगको अपिल गरेका थिए। भूपेशका दुई सन्तान र श्रीमती रहेका छन्।

उनको श्रीमती छायाँ पाण्ड्या शिक्षिका भए पनि लकडाउनका कारण काम नचल्दा उनको आर्थिक अवस्था दयनीय भएको समाचारमा जनाइएको छ। उनको निधनको खबरपछि बलिउड फिल्मकर्मीले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्। भूपेशले हराजो ख्वाहिसे, गान्धी टु हिटलर, मरमाणु ः पोखरणकी कहानी जस्ता फिल्मका साथमा केही वेधभसिरिज तथा कयौं नाटकमा अभिनय गरेका थिए।

प्रतिक्रिया दिनुहोस्