थाइल्यान्डमा पहिलोपटक राजतन्त्रविरुद्ध प्रदर्शन



बैंकक, (एजेन्सी)

थाइल्यान्डमा राजतन्त्रको कडा विरोध गर्ने क्रममा सरकार विरोधी प्रदर्शनकारीले आइतबार ‘थाइल्यान्ड जनताको हो’ भन्ने वाक्यांश लेखिएको प्लेट जडान गरेका छन्।

थाई नरेश महा भाजिरालोन्गकोर्नलाई पछिल्लो चुनौती दिने क्रममा सो प्लेट राजधानी बैंकक नजिकको ग्रायन्ड प्यालेस नजिक राखिएको छ।

गत जुलाईदेखि विद्यार्थीहरूको नेतृत्वमा मुलुकमा राजतन्त्र र राजनीतिक प्रणालीको सुधारको आह्वान गर्दै सडक प्रदर्शन भइरहेका छन्।

शनिबार वर्षौंपछि थाइल्यान्डकै सबैभन्दा ठूलो विरोध प्रदर्शनको आयोजना भएको छ। यस क्रममा हजारौं प्रदर्शनकारीले स्थानीय निकायका प्रचलित नियम कानुनको अवज्ञा गरेका छन्।

थाइल्यान्डमा लेस म्याजेस्टे नामक कानुनअनुसार राजतन्त्रको विरोध गर्नेलाई लामो कारावास सजायको व्यवस्था भए पनि यसरी प्रदर्शन हुनुलाई राजनीतिक विश्लेषकले निकै संवेदनशील तरिकाले हेरेका छन्।

यसैगरी, प्रदर्शनकारीले प्रधानमन्त्री प्रायुथ चान ओचाको राजीनामाको पनि माग अघि सारेका छन्। सन् २०१४ मा सैनिक विद्रोह गर्दै सत्तामा पुगेका उनले गत वर्ष मात्र विवादास्पद चुनाव जितेका थिए। आइतबार बिहान प्रदर्शनकारी विद्यार्थीहरूले सानाम लुआंग अर्थात् रोयल फिल्ड नजिक उक्त ऐतिहासिक ‘पिपुल्स प्लेट’ जडान गरेका हुन्।

सो प्लेट थाई भाषामा उल्लेख गरिएको छ। ‘२० सेप्टेम्बर, २०२० ः जनताले यो देश राजाको नभई जनताको हो भन्ने मनसाय अभिव्यक्त गरेका छन्।’

सो प्रतीक सन् २०१७ देखि हराइरहेको छ। प्लेट राख्ने क्रममा प्रदर्शनकारीले ‘सामन्तवाद मुर्दावाद, जनता अमर रहून्’ भन्ने चर्को नारा लगाएका थिए। उक्त प्रदर्शनमा प्रहरीले हस्तक्षेप नगरेको तथा कुनै हिंसात्मक घटना पनि नघटेको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।

थाई सरकारले प्रदर्शनकारीविरुद्ध कुनै बल प्रयोग नगर्ने कुरा अन्तर्राष्ट्रिय सञ्चार निकाय रोयटर्सलाई जानकारी दिएको छ। तर, पछि गभर्मेन्ट हाउसतर्फ बढ्न लागेका प्रदर्शनकारीलाई भने प्रहरीले रोकेको थियो।

प्रतिक्रिया दिनुहोस्