१ लाख २० हजार वर्ष पुरानो मानव पाइलाको पद चिह्न प्राप्त



रियाद, (एजेन्सी)

उत्तरी साउदी अरेबियास्थित एक पोखरी नजिकै मानवको एक लाख २० हजार वर्ष पुरानो पाइलाको पद चिह्न प्राप्त भएको छ।

उक्त प्राग् पाइला होमो सेपियन्सको भएको र उनीहरू त्यतिबेला पानी र भोजनको खोजीमा त्यहाँ पुगेको हुन सक्ने अनुमान गरिएको छ। उक्त पोखरीमा पानीका लागि ऊँट, भैंसी र हात्ती पनि आउने गर्थे। ती मानवले केही ठूला जीवको शिकार गरेको र केही समयपछि त्यहाँबाट हिँडेको हुन सक्ने शोधकर्ताले अनुमान गरेका छन् ।

शोधकर्ताको यो अनुसन्धान साइन्स अडभान्स जर्नलमा प्रकाशित भएको छ। उक्त स्थानमा ऊँट, भैंसी र हात्तीका पाइलाका निसाना पनि प्राप्त भएको छ। साउदी अरेबियाको नेफुद मरुभूमिमा उक्त मानव पाइलाका यी निसाना प्राप्त भएका हुन्।

यसबाट मानव पूर्वज कुन मार्गबाट विश्वको अन्य भागमा फैलिएका थिए भन्ने थाहा हुन्छ। उक्त मरुभूमि इलाकामा त्यतिबेला मानव तथा पशुलाई बस्न आवश्यक वातावरण थिएन।

विगत १० वर्षको अध्ययनअनुसार त्यहाँको वातावरण सदासर्वदा एकनास छैन। जलवायुमा आएको परिवर्तनका कारण त्यो ठाउँ धेरै हराभरा र समशीतोष्ण बनेको छ। उक्त इलाका घाँसले भरिएको हराभरा मैदान र ताजा पानी तथा नदीले सम्पन्न भएको विज्ञहरूले बताएका छन्।

मानव पाइलाका यी निसाना अल्थार तलाउ नजिकै सन् २०१७ मा प्राप्त भएको थियो। मानव पाइलाका यी निसानाले आफैमा अत्यन्त विशेष महŒव राख्छ। यसले पृथ्वीमा कसरी मानव फैलिएको हो थाहा पाउन मद्दत पनि गर्दछ।

त्यस इलाकामा सयौं पद चिह्न भेटिएको जसमा होमो सेपियन्सको भएको शोधकर्ताले बताएका छन्। अनुसन्धानले तीन वा चारजनाको झुन्ड यात्रा गरिरहेको थाहा भएको छ।

जब ती मानव त्यहाँ पुगे, त्यतिबेला कैयौं ठूला जनावर पनि त्यहाँ गएको अनुमान गर्न सकिन्छ। यद्यपि, त्यस क्षेत्रबाट कुनै पत्थर वा औजार भने प्राप्त भएको छैन। यसबाट ती मानव पानीकै लागि मात्र त्यहाँ पुगेको थाहा हुन्छ।

प्रतिक्रिया दिनुहोस्