लिंकनको केश र हत्यासम्बन्धी टेलिग्राम महँगो दाममा बिक्री



न्युयोर्क, (एजेन्सी)

अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिंंकनको पोस्टमार्टम परीक्षणबाट प्राप्त उनका केही केश र सन् १८६५ मा उनको हत्या हुनासाथ पठाइएको रगतको दागसहितको टेलिग्राम ८१ हजार अमेरिकी डलरभन्दा बढी मूल्यमा बिक्री भएको छ। बोस्टनको आर आर लिलाम गृहका अनुसार गत शनिबार लिंकनको करिब दुई इन्च लामो केशको मुठा र उक्त औपचारिक टेलिग्राम लिलाम भएको हो।

सो केश लिंकनकी विधवा पत्नी म्यारी टोड लिंकनका भतिजा डा. लिम्यान बिचरको हातमा आइपुगेको हो। त्यतिबेला लिंकनको शवको पोस्टमार्टम हुँदा डा. टोड पनि उपस्थित थिए। उनले नै आफूलाई आफ्ना सहायक जर्ज किन्नियरले दिएको हत्या सूचनासम्बन्धी टेलिग्राममा उनले सो केश पोको पारेको विश्वास गरिएको छ।

डा. टोडका छोरा जेम्स ए टोड भन्छन्– ‘अब्राहम लिंकनलाई गोली हानिएको केही समयपछि नै यो टेलिग्राम वासिङ्टनमा आइपुगेको थियो। भोलिपल्ट पोस्टमार्टमको क्रममा लिंकनको बायाँ कन्चटमा झुन्डिरहेको सो केश डा. टोडलाई दिइएको थियो।

आफ्नो खल्तीमा अन्य कुनै कागज नभएकाले उनले रगत वा मस्तिष्कको तरल पदार्थ लागेको यसै टेलिग्राममा केश पोको पारेर हतारमा सिसाकलमले ‘ए लिंकनको केश’ भनेर लेखेका थिए।’

लिंकन अमेरिकाको सोह्रौं राष्ट्रपति हुन्। सन् १८६५ को १४ अप्रिलमा वासिङ्टन डिसीको फोर्डस थियटरमा जोहन विल्किस बुथ नामक व्यक्तिले लिंकनको गोली हानी हत्या गरेका थिए।

प्रतिक्रिया दिनुहोस्