ट्रम्प इतिहासकै सर्वोत्कृष्ट राष्ट्रपति : असद



सिरियाली राष्ट्रपति बसर अल असदले एक अन्तर्वार्तामा आफ्नो विचारमा डोनाल्ड ट्रम्प हालसम्मकै सबैभन्दा राम्रो अमेरिकी राष्ट्रपति भएको बताएका छन्।

राष्ट्रपति ट्रम्प अरबको तेल हत्याउने अमेरिकी मनसायलाई लिएर इमानदार रहेकाले उनी वास्तवमै अमेरिकाको इतिहासकै सबैभन्दा राम्रो राष्ट्रपति भएको असदको भनाइलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ। तर, अमेरिकी बलले आईएसआईएसका नेता अल बगदादीलाई मारेको ट्रम्पको घोषणामा आफूलाई आशंका रहेको असदले बताएका छन्।

यस विषयमा उनी रूसी धारणाको पक्षमा देखिएका छन्। रूसले पनि उक्त घोषणालाई लिएर थप प्रमाण देखाउनुपर्ने माग गरेको थियो। सिरियाबाट अमेरिकी फौज हटाउने ट्रम्पको निर्णयले टर्कीलाई त्यहाँका कुर्दिसविरुद्ध सैन्य कारबाही थाल्न मार्ग प्रशस्त गरेकोमा त्यसलाई आफ्नै कुर्दिस गठबन्धनलाई अमेरिकाले दिएको धोकाका रूपमा लिइएको छ।

यस मुद्दामा असदले सिरियामा टर्किस बल वा इदलिबमा लडाकूविरुद्ध कुनै पनि सैन्य कारबाही गर्नुअघि कूटनीतिक पहल हुनु आवश्यक भएको उल्लेख गरेका छन्।

सिरियामा गृहयुद्धका क्रममा आईएसआईएसको उदयसँगै त्यस क्षेत्रको ठूलो हिस्सामा उक्त इस्लामिक कट्टरपन्थी समूहले कब्जा गरेको थियो । उक्त घटनाले सिरिया तथा इराकको भौगोलिक तथा राजनीतिक शक्ति सन्तुलनलाई तहसनहस पारेको थियो। उक्त समूहको सम्भावित वर्चस्व समाप्त पार्न रूस र सिरियाका राष्ट्रपति असदको साथमा आएका थिए। यसले मध्यपूर्व खाडी क्षेत्रमा सिरियाको रूस र इरानसँग एक प्रकारको गठबन्धन बनेको थियो।

मध्यपूर्वमा देखिएको नयाँ समीकरणलाई चुनौती दिन अमेरिका र नेटो गठबन्धनले सिरियाका विद्रोहीलाई समर्थन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्