अन्तरिक्षमा लामो समयसम्म रहन सक्ने परमाणु हतियार विकसित गर्दै रूस



लन्डन, (एजेन्सी)
रूसले कैयौं वर्षसम्म अन्तरिक्षमा पृथ्वीको चक्कर लगाइरहने परमाणु हतियारको विकास गरिरहेको छ। उक्त हतियारले आदेश पाएपछि विश्वको कुनै पनि भागलाई क्षणभरमै ध्वस्त गर्न सक्षम भएको बताइएको छ। ९ एम ७३० बुरेभेस्त्निक नामक उक्त रूसी क्षेप्यास्त्रलाई बेलायत र अमेरिकाले स्काइफल मिसाइल नाम दिएका छन्।
रूसले एक सबसोनिक न्युक्लियर पावर्ड क्रुज क्षेप्यास्त्र प्रणाली विकसित गरिरहेको बेलायतको गुप्तचर एजेन्सीका प्रमुख लेफ्टिनेन्ट जनरल जिम हकेनहुलले चेतावनी दिएका छन्। यो क्षेप्यास्त्रले विश्वको कुनै पनि स्थानलाई आफ्नो निसाना बनाउन सक्षम भएको पाइएको छ। यो कुन दिशाबाट आउँछ भन्ने पनि सोच्न नसक्ने हकेनहुलले बताए। सोच्दै नसोचेको दिशाबाट यसले हमला गर्न सक्छ। परमाणु ऊर्जाबाट चल्ने यो क्षेप्यास्त्र करिब अनिश्चित समयसम्म अन्तरिक्षमा रहिरहन सक्ने उनले बताए।
नियममा काम नगर्ने विरोधीहरूसँग तालमेल बनाइराख्न पनि उनले पश्चिमी देशलाई अपिल गरेका छन्। रूस र चीनको उदाहरण दिँदै यी दुवै देश सीधा लडाइँ छोडेर वर्तमान समयमा आफ्नो शक्ति बढाएर अरू देशलाई चुनौती दिइरहेको उनले बताए। रूस विज्ञान र अन्तर्राष्ट्रिय सन्धिहरूको सीमा नाघिरहेको पनि उनले आरोप लगाएका छन्।
कैयौं विशेषज्ञले रूसको यो क्षेप्यास्त्र धेरै वर्षसम्म पृथ्वीको परिक्रमा गर्न सक्षम हुने बताएका छन्। रूसको रक्षा कमान्डले जुनबेला हमलाको आदेश दिन्छ, त्यो क्षेप्यास्त्र तत्काल निर्धारित लक्ष्यमा परमाणु हमला गर्न सक्छ। उक्त क्षेप्यास्त्र सन् २०२५ सम्ममा प्रक्षेपण गर्न तयार हुने गत वर्ष आएको एक प्रतिवेदनमा उल्लेख गरिएको थियो।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त क्षेप्यास्त्र असीमित रेन्ज र युद्ध अभ्यासमा पनि क्षमतायुक्त भएको बताएका छन्। साथै, यो हतियारमा नयाँ प्रकार भएको उनले उल्लेख गरे। बेलायतका गुप्तचर प्रमुख क्याम्ब्रिजसायरको आरएएएफ बायटले फाइभ आइज इन्टिलिजेन्स हबको बैठकमा उक्त जानकारी दिइएको थियो। फाइभ आइज एक गुप्तचर गठबन्धन हो, जसमा बेलायत, अमेरिका, अस्ट्रेलिया, न्युजिल्यान्ड र क्यानडाका विज्ञ छन्।

प्रतिक्रिया दिनुहोस्