विश्वकर्मा पूजामा भएन व्यापार



नेपाल समाचारपत्र, हेटौंडा

विश्वकर्मा पूजाका लागि प्रयोग हुने सामान हेटौंडामा अघिल्लो वर्र्षभन्दा निकै कम मात्रामा बिक्री भएको छ ।हेटौंडा–४, कान्तिराजपथमा रहेको लता कस्मेटिक पसलमा विश्वकर्मा पूजाका लागि बिक्री गर्न ल्याइएका सामान त्यति बिक्री भएन ।

उक्त पसल सञ्चालक राहुल झाले अघिल्लो वर्षकै तुलनामा बिक्री हुने हो कि भन्ने आशाले रक्सौलबाट सामान मगाएको बताउनुभयो । तर, कोरोनाका कारण सामान किन्ने ग्राहक नआएको उहाँ बताउनुहुन्छ ।

उहाँले भन्नुभयो–‘विहान १० बजेमात्र बजार खुल्छ । त्यही पनि त्यति ग्राहक आएकै छैनन् । पोहोर कम्तिमा २५ हजारसम्मको सामान बेचिएको थियो । यसपालि सबै सामान स्टक बस्ने भयो । अलिअलि नरिवल तथा विश्वकर्मा बाबाको फोटोमात्र बिकेको छ ।

बाँकी सजावटका सामान बिकेकै छैन भन्दा पनि हुन्छ । कोरोना भाइरस प्रभावका कारण विश्वकर्मा बाबाको पूजामा प्रयोग हुने सामान नबिकेको उहाँको भनाइ छ ।

हरेक वर्ष असोज १ गते मनाइने विश्वकर्मा पूजाको रौनकमा यस वर्ष कम आएको छ । अघिल्लो वर्ष हेटौंडा बजारभरि रौनकतासाथ मनाइएको बिश्वकर्मा पूजामा यसवर्ष भने कोरोनाको प्रभाव परेको देखिएको हो ।
लामो समयदेखि सवारीसाधन बन्द रहेका कारण पनि रौनकतामा कमी भएको हुनसक्ने पूजा सामग्री बिक्रेताहरुले बताएका छन् ।

यस दिन विशेषगरी सवारीसाधन, यन्त्रिक साधन तथा उद्योगमा प्रयोगमा आउने मेसिनरी सामानको पूजा गरिन्छ । धेरै संख्यामा उद्योग रहेको हेटौंडा औद्योगिक क्षेत्रमा पनि यस वर्ष विश्वकर्मा पूजाको रौनकतामा कमी आएको छ । पूजामा प्रसादका रुपमा प्रयोग हुने मिठाइसमेत बिक्री कम भएको मिठाइ पसल व्यवसायीले बताएका छन् ।

विश्वकर्मा पूजा भन्नासाथ विभिन्न कलकारखाना, पार्टपूर्जा, यन्त्रको पूजाआजा गरिने पर्व भनी बुझिन्छ । यस दिन विश्वकर्मा भगवानको जन्म भएको थियो । यसैले यस दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ ।

नेपाललगायत भारतमा विश्वकर्मा पूजा उल्लासपूर्ण तरिकाले मनाइन्छ । यसैले विश्वकर्मा पूजाका दिन उद्योग, कलकारखाना र हरेक किसिमका मेसिनहरुको पूजाआजा गरिन्छ । यस पूजा सबै कलाकार, शिल्पकार र औद्योगिक घराना, व्यापारी र मजदुरले गर्छन् ।

प्रतिक्रिया दिनुहोस्