इजरायलमा दोस्रोपटक लकडाउन, विरोधमा मन्त्रीको राजीनामा



तेलअभिव, (एजेन्सी)
कोरोना भाइरस संक्रमण बढ्न थालेपछि इजरायलमा पुनः एकपटक देशभरि लकडाउन लागू गरिएको छ। यस लकडाउनले यहुदी नयाँ वर्षमा पनि कडा प्रतिबन्ध लागू हुनेछ।
इजरायलले दोस्रो लकडाउन शुक्रबारदेखि लागू हुनेगरी तीन हप्ताका लागि लगाएको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यस कदमलाई लिएर भनेका छन्– ‘हामीले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ।’

तर, इजरायलमा हाल दैनिक ४ हजार नयाँ संक्रमित देखिएका छन्। लकडाउन त्यस्तो समयमा लगाइएको छ जुनबेला एक महŒवपूर्ण यहुदी पर्व आइरहेको छ। त्यसैले, लकडाउनको विरोधमा एक मन्त्रीले राजीनामा दिएका छन् भने सत्तारूढ गठबन्धनमा आफ्नो पार्टीको समर्थन फिर्ता लिने चेतावनी दिइएकोे छ।

जोन हप्किन्स विश्वविद्यालयको आंकडाअनुसार करिब ९० लाख आवादी रहेको इजरायलमा कोभिड–१९ बाट १ हजार १ सय ८ जनाको मृत्यु भइसकेको छ भने १ लाख ५३ हजार बढी संक्रमित छन्। हालैका हप्तामा संक्रमित संख्यामा तीव्र वृद्धि आइरहेको छ।

आइतबार एक टेलिभिजन सम्बोधनमा प्रधानमन्त्री नेतान्याहूले दैनिक संक्रमण संख्या औसत ४ हजार पुगेको जानकारी दिएका छन्। यसअघि मार्चको शुरुआतबाट मे महिनाको अन्त्यसम्म पहिलो लकडाउन लगाइएको थियो।

नेतान्याहूले धार्मिक पर्वको बिदा मनाउने तयारीमा रहेका यहुदी समुदायलाई लकडाउनबाट समस्या हुने बताएका छन्। यहुदीहरू नयाँ वर्षको यो पर्व आफ्ना नातेदारसँग मिलेर मनाउँछन्।

दोस्रो लकडाउनले इजरायलको अर्थव्यवस्थालाई नराम्ररी असर पार्नेछ, जुन पहिले नै महामारीका कारण मन्दीको चेपेटामा आइसकेको हो। अर्थ मन्त्रालयले यसबाट १ अर्ब ८८ करोड डलर नोक्सान हुने अनुमान गरेको छ।

तर, प्रधानमन्त्री नेतान्याहूले यो कदम चाल्न आवश्यक भएको बताएका छन्। किनभने, महामारीसँग लड्न इजरायलका लागि अर्को उपाय नभएको उनले बताए।

नेतान्याहूको कोरोना महामारीसँग लड्ने तरिकाको आलोचना भइरहेको छ। आलोचकहरूले भाइरससँग लड्न उनी असफल भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्