आऊ कोरोना पिरेम गरम



-लक्ष्मण अधिकारी

नआउनुथ्यो कोरोना आइगयौ,
जाने कुरै गर्दिनौ,
ढसमस बसेकी छौ,
औषधिले मर्दिनौ,
बस्नु नै छ यहाँ भने
बैरी अब नबनाँै
आऊ कोरोना पिरेम गरम ।
झ्याल ढोका थुनेर हैन,
सवै ह्वाङ्ग पारेर गरम,
अंगालेर चुम्बाचुम्बी हैन
नयन कर्काइ माया गरौँ
शरीर सुमसुम्याएर हैन,
परैबाट मुस्कान छोडौँ,
आऊ कोरोना पिरेम गरम ।
हात धेरै धुन सिकायौ,
नाक छुदा डर देखायौ,
भिडभाड गर्दा डण्डा तेस्र्यायौ
हाच्छिउँ गर्दा रुमाल देखायौ,
ज्वरो आउँदा घरै बसायौ
परिवारसँग रम्न सिकायौ
आऊ कोरोना पिरेम गरम ।
गुण मात्र होइन तिम्ले
बैगुन पनि सिकायौ,
धनवानलाई महाधनी बनायौ
दीनदुखीको विल्लीबाठ गरायौ,
श्रीपेचधारीलाई दरबारमै सेवा
निर्धोले त्यागे एम्बुलेन्समै देह,
परवासीलाई पैदल धेरै हिंडायौ,
ननिभ्दा पेटको ज्वाला उल्टो पाउ फर्कायौ,
तै पनि तिम्लाई जित्न सकेनम,
बरु आऊ कोरोना पिरेम गरम ।
म वल्लो खाटमा बस्छु
तिमी पल्लो खाटमा बस,
म सावुनले हात धुन्छु,
तिमी स्यानीटाइजर घस
म लाउँछु फेस मास्क
लगाऊ भाइजर तिमी
बसेर हुन्न घरमा अव
उद्यम गरौँ हामी
बाटो अफिस थुनेर हैन
खोलेर काम गरम,
बैरी हामी बनेर हैन
मिलेर अघि बढम,
आऊ कोरोना पिरेम गरम ।

प्रतिक्रिया दिनुहोस्