डर



टीकादेवी खनाल, कीर्तिपुर ।

चरा छन् गगनमा सदाझैं उडेका ।
फूलैमा ती मौरी उसै छन् भुलेका ।।
प्रकृति छ उस्तै चलेकै कुरा हो ।
नदेखीकनै केही, मान्छे डरायो ।।

यी मानव तिनै हुन् उडी शून्यतामा ।
उडेरै कति ता पुगे चन्द्रमामा ।।
गगन चुम्न सक्नेको सातो हरायो ।
नदेखीकनै केही, मान्छे डरायो ।।

उडि विश्वब्रह्माण्ड डुल्थे कति ता ।
बसी भूमीमा नै ती भुल्छन् कति ता ।।
कसैले किन आज यस्तो गरायो ।
नदेखीकनै केही, मान्छे डरायो ।।

कतिले फलामै उडाए गगनमा ।
कमिला सरीझैं गुडाए जमीनमा ।।
डरैले होला चल्ती आफैँ हरायो ।
नदेखीकनै केही, मान्छे डरायो ।।

कतिका जहानै भए छिन्नभिन्न ।
कतिका घरै छन् कति भिन्नभिन्न ।।
घरैमा लुकी बस्न बाध्यै गरायो ।
नदेखीकनै केही, मान्छे डरायो ।।

प्रतिक्रिया दिनुहोस्