नेपालभर प्रदर्शनमा रहेका स्वदेशी फिल्मको साप्ताहिक बक्स अफिस विवरण सार्वजनिक भएको छ।
वैशाख ११ गते शनिवार राति ११ः५९ बजेसम्मको आधिकारिक तथ्यांकअनुसार केही अघि र हालै मात्र रिलिज भएका फिल्मका बीचमा रोचक प्रतिस्पर्धा देखिएको छ।

चैत २७ गतेदेखि प्रदर्शनमा आएको फिल्म राम नाम सत्यले गत शनिवारसम्मको व्यापारमा अग्रता कायम गरेको छ। फिल्मले १ लाख २० हजार १ सय २६ टिकट बिक्री गर्दै ३ करोड ३१ लाख ३२ हजार ४ सय ६६ रुपियाँ ग्रस कलेक्सन गरेको छ।
माइकल चन्दद्वारा निर्देशित फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुष सिंंह ठकुरी, खुशी कार्की, सुनील थापा, प्रशान्त ताम्राकारलगायतका कलाकारले अभिनय गरेका छन्।
गत सातामात्रै अर्थात् वैशाख ११ गते रिलिजमा आएको फिल्म परालको आगोले रिलिजकै समयदेखि उत्साहजनक व्यापार गरेको छ। फिल्मले एक सातामा १ लाख १० हजार ४ सय ४२ टिकट बिक्री गर्दै ३ करोड १२ लाख २७ हजार ९ सय १२ रुपियाँ कमाइ गरेको चलचित्र विकास बोर्डको बक्स अफिस सिनेपाको विवरणमा उल्लेख छ।
लक्ष्मण सुनुवारको निर्देशनमा बनेको फिल्ममा प्रकाश सपुत, सुहाना थापा, सौगात मल्ल, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने, मञ्जिल बानियालगायतले अभिनय गरेका छन्।
परालको आगोभन्दा अगाडि नै गत वैशाख १ गते रिलिजमा आएको फिल्म पहाडले २० हजार २ सय ६९ टिकट बिक्री गर्दै ६३ लाख १३ हजार २ सय ६२ रुपिया“ ग्रस कलेक्सन गरेको छ।
तुलसी घिमिरेद्वारा निर्देशित फिल्ममा विपिन कार्की, पञ्चमी घिमिरे, सुनील थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानिया, सलोना बज्राचार्यलगायतका कलाकारले अभिनय गरेका छन्।
चलचित्र विकास बोर्डले आधिकारिक सिनेपा बक्स अफिस प्रणालीमार्फत संकलित यो तथ्यांक प्रत्येक साता सार्वजनिक गर्दै आएको छ। जसले नेपाली फिल्मको व्यापारिक अवस्था चित्रण गर्ने गर्दछ।











प्रतिक्रिया