पक्राउ परेकालाई निसर्त अविलम्ब रिहा गर्नुपर्ने



ललितपुर, (नेस)

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भदौ १८ गते रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा पक्राउ परेकालाई निसर्त अविलम्ब रिहा गर्नुपर्ने बताएका छन् ।

महानगरका प्रमुख महर्जनद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘ललितपुर महानगरपालिकाभित्र भएको उक्त घटनामा पक्राउ परेकाहरुको रिहाइका लागि ललितपुर महानगरपालिका प्रमुखको हैसियतले म, ज्यापु समाज र १९ वटा जातीय संघसंस्थासमेतले निसर्त रिहा गर्न स्थानीय प्रशासनलाई भनेको कुरा जानकारी गराउन चाहन्छु ।’

विनायोजना, स्थानीय प्रशासनलाई जानकारी नै नदिई भदौ १८ गते एक समूहले ललितपुरको पुल्चोकमा रहेको रथ तानेको थियो । रथ तान्ने क्रममा प्रहरी र रथ तान्न गएका समूहबीच दोहोरो झडप भएको थियो ।

स्थानीय प्रशासन र रथ तान्ने समूहबीच गत बिहीबार भएको घटनापछि ज्यापु समाजको नेतृत्वमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबुु महर्जनसहित १९ वटा जातीय संघसंस्थाको छलफलपश्चात् भदौ २१ गते धार्मिक विधिपूर्वक सांकेतिकरुपमा श्री मच्छिन्द्रनाथरथ तानिएको थियो ।

विज्ञप्तिमा भदौ १८ गते विधि नपु¥याई रथ तान्दा उत्पन्न परिस्थितिले धर्म संस्कृतिप्रेमी सबैको मनमा घाउचोट लागे तापनि भदौ २१ गते धार्मिक प्रक्रिया र विधिपूर्वक सौहर्दपूर्ण वातावरणमा स्वास्थ्य सतर्कता अवलम्बन गरी रथ तान्ने काम सम्पन्न भएबाट घाउचोटमा मल्हमपट्टि लागेको ठहर गरेको उल्लेख छ ।

विज्ञप्तिमा भदौ १८ गतेको घटनामा घाइते भएका ट्राफिक प्रहरीलगायत अन्यको शीघ्र स्वास्थ्य लाभको समेत कामना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्