संक्रमितको मनोबल बढाउन जनप्रतिनिधि घरदैलो अभियानमा



यमलाल भुसाल, बुटवल

सैनामैना नगरपालिकामा हालसम्म १ हजार ३ सय ५० जनाको पीसीआर परीक्षण गरिएको छ, जसमध्ये ८० जनामा कोरोना संक्रमण देखिएको छ । ८० जनामध्ये ४७ जना निको भइसकेका छन् भने १ जनाको मृत्यु भएको छ ।

बाँकी २४ जना सैनामैना १ मा रहेको पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयको आइसोलोसनमा, २ जना बुटवलको आइसोलेसन अस्पतालमा रहेका छन् भने ६ जना होम आइसोलेसनमा रहेको सैनामैनाका स्वास्थ्य संयोजक हेमराज पन्थीले जानकारी दिनुभयो ।

सैनामैनामा हालसम्ममा कन्ट्र्याक टे«सिङमा रहेका ३ सय २३ जना, समुदायस्तरमा २ सय ८७ जना र दीर्घ रोगी २२ जनाको कोरोना परीक्षण गरिएको नगरले जनाएको छ । जसमध्ये कन्ट्र्याक टे«सिङबाट ९ जनामा, समुदायस्तरबाट ९ जनामा कोरोना संक्रमण पाइएको छ । दीर्घ रोगी २२ जनामा सबैमा भने कोरोना नेगेटिभ रहेको छ ।

होम क्वारेन्टिनमा बसेकाहरुको मनोबल बढाउने र उनीहरुमा थप हौसला प्रदान गर्न नगर प्रमुख चित्रबहादुर कार्कीले घरदैलो अभियान सञ्चालन गर्नुभएको छ ।

कोरोना संक्रमितहरुको मनोबल बढाउन नगर प्रमुख संक्रमितहरु बसेको घरघरमै गएर उनीहरुको समस्या बुझ्ने र समाधानका लागि पहल गर्ने गर्नुभएको छ ।

खासगरी संक्रमितहरुमा उच्चमनोबल आवश्यक पर्ने भएपछि नगर प्रमुख कार्कीले अहिले प्रत्येक दिनहोम क्वारेन्टिनमा बसेकाहरुको घरदैलोमा गएर आवश्यक परामर्श गर्ने, मनोबल बढाउने र छिट्टै निको भएर सामान्य जीवनयापन गर्नका लागि शुभकामनासमेत दिने गर्नुभएको छ ।

नगर प्रमुख कार्कीले होम क्वरेन्टिनमा मात्र होइन बनकट्टामा रहेको पदमपाणि योग चिकित्सालयमा निर्माण गरिएको क्वारेन्टिनमा दैनिक जाने र त्यहाँ रहेका संक्रमितहरुसँग भेटघाट गर्ने गर्नुभएको छ ।

यसैबीच नगर प्रमुख कार्कीले संक्रमितका परिवारलाई समेत भेटेर परिवार र समाजले संक्रमितलाई गर्न सक्ने दुव्र्यवहार जस्ता क्रियाकलाप अन्त्य गर्न आग्रहसमेत गर्ने गर्नुभएको छ ।

कोरोना जोखिमको बेलासमेत होम क्वारेन्टिनमा बसेकाहरुको घरघरमा पुगेर नगर प्रमुख कार्कीले हौसला बढाउने काम गरेकोमा संक्रमित र तिनका परिवारले खुसी व्यक्त गरेका छन् भने संक्रमितहरुले आफूहरुमा हौसला र थप आत्मविश्वास बढेको बताएका छन् ।

सैनामैनाले दीर्घरोगी बिरामीका लागि पीसीआर रिपोर्टको अभावमा उपचारमा समस्या हुन थालेपछि त्यसको सहजताका लागि नगरपालिकाले निःशुल्क पीसीआर परीक्षण गरेको छ । नगरभित्र बसोबास गर्ने विपन्न परिवारका सदस्य एवम् विभिन्न अस्पतालमा उपचार गराइरहेका डायलसिस, क्यान्सरलगायतका बिरामीको निःशुल्क परीक्षण गरिएको हो ।

अहिलेसम्म नगरबाट २२ जना बिरामीको स्वाब संकलन गरी परीक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको नगरपालिकाले जनाएको छ । नगरमा रहेका अन्य विपन्न परिवार तथा दीर्घ बिरामीहरुले नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्नसमेत पन्थीले आग्रह गर्नुभयो ।

नगरपालिकाकी उपप्रमुख बिना रानाको नेतृत्वमा नगरपालिकाका विभिन्न ठाउँ बनकट्टा, रानिबगिया, मुर्गिया र बुद्धनगर, कलौनी, बासगढी, सालझण्डी क्षेत्रका पसलहरुमा अनुगमन गर्दै आएको छ ।

व्यापारी व्यवसायीलाई अनिवार्यरुपमा स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गर्दै व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै आएको सैनामैनाका उपप्रमुख रानाले बताउनुभयो ।

त्यस्तै बैंक तथा वित्तिय संस्थालाई पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी भीडभाड नहुने व्यवस्था मिलाएर नियमित सेवा प्रदान गर्न आग्रह गरिएको छ ।

उपप्रमुख रानाको नेतृत्वमा सैनामैना उद्योग वाणिज्य संघका प्रतिनिधि, सैनामैना व्यापार संघका प्रतिनिधि, उपभोक्ता हित संरक्षण मञ्च सैनामैनाका प्रतिनिधि, इलाका प्रहरी कार्यालय रन्यौरा, इलाका प्रहरी कार्यालय सालझण्डीका प्रतिनिधि, नगरपालिकाका कर्मचारीलगायतको टोलीले बजार अनुगमन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्