एउटा पालिका कोरोनामुक्त, अर्कोमा समुदायमै संक्रमण

0
Shares

न्युज अफ नेपाल, हेटौंडा।

कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लागिरहेका बेला मकवानपुरको बागमती गाउँपालिका कोरोनामुक्त भएको छ । क्वारेन्टाइनमा रहेका सबै कोरोना संक्रमित निको भएका छन् । भदौ २४ गते साँझसम्मको तथ्यांकअनुसार गाउँपालिका कोरोनामुक्त भएको हो ।

गाउँपालिका ४ जनामध्ये विदेशबाट आएका २ जना तथा हेटौंडा र काठमाडौँमा परीक्षण गर्दा भेटिएका २ जना कोरोना संक्रमित निको भएर घर फर्किएका हुन् । मकवानपुरका १० स्थानीय तहमध्ये कोरोनामुक्त पहिलो पालिका भएको पालिका स्वास्थ्य प्रमुख निदेश गुप्ताले जानकारी दिनुभयो ।

पालिकाले तयार पारेको क्वारेन्टाइनका बेड खाली भएका छन् भने कोरोना रिपोर्ट आउन बाँकी छैन । पालिकाले जनता माविमा ५० वेड क्षमताको क्वारेन्टाइन निर्माण गरेको पालिका अध्यक्ष सर्केश घलानले जानकारी दिनुभयो । उहाँले पालिकाका कर्मचारी र जनप्रतिनिधिको कोरोना पीसीआर परीक्षणपछि पुष्टि नहुँदा पालिका कोरोनामुक्त भएको भन्न सकिने दाबी गर्नुभयो ।

कोरोना संक्रमित छैनन् भनेर हेलचेक्र्याईं भने नगर्न अनुरोध गर्दै उहाँले भिड हुने खालका कुनै गतिविधि नगर्न अनुरोध गर्नुभएको छ । उहाँले पालिकाबासीलाई सतर्क रहन आग्रह गर्नुभयो ।

उता, इन्द्रसरोवर गाउँपालिकामा समुदायस्तरमै कोरोना संक्रमित भेटिएका छन् । भदौ २३ गते इन्द्रसरोवर–४ मा ५६ वर्षीया एक महिलामा कोरोना पुष्टि भएको गाउँपालिका अध्यक्ष जीवन लामाले जानकारी दिनुभयो ।

संक्रमित महिलाको नेपाल नेसनल अस्पतालमा पीसीआर परीक्षण गरिएको थियो । उहाँको हाल मेघा अस्पतालमा क्याबिन वार्डमा उपचार भइरहेको छ । उहाँ अन्यन्त्रबाट नआएको र घरैमा बसेको अबस्थामा संक्रमण भएकाले समुदायमै संक्रमण देखिएको अध्यक्ष लामाले बताउनुभयो ।

पालिका अध्यक्ष लामाले समुदायमै पहिलोपटक कोरोना देखिएको बताउँदै संक्रमितको कन्ट्क्याक ट्रसिङमा रहेका सबैलाई गाउँपालिकाका स्वास्थ्यकर्मीले दिएका सल्लाह/सुझाव पूर्णरुपमा परिपालनका लागि अपिल गर्नुभएको छ ।

कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै राज्यका तर्फबाट र गाउँपालिकाले समेत पटकपटक गरेका अपिल, सूचनालगायत आह्वानलाई विगतका दिनमा बेवास्ता गरेको परिणाम अब बिस्तार देखिन थालेको अध्यक्ष लामाको गुनासो छ ।

महामारीको अबस्थामा सुरक्षा विधि अपनाएर नआत्तिई सुरक्षित भएर बस्न पालिकाबासीलाई उहाँले आग्रह गर्नुभएको छ ।