सीमानाकामा खटिएका ८ सुरक्षाकर्मीमा कोरोना



नेपाल समाचारपत्र, काभ्रे
उपत्यका प्रवेश गर्ने नाका साँगाको सिमानामा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिने क्रम बढेको छ । भदौ १८ गते दुई जनामा देखिएको संक्रमण भदौ २३ गते थप ८ जनामा देखियो ।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाका अनुसार मंगलबार जिल्लामा थपिएका १० नयाँ संक्रमित मध्ये ८ जना सुरक्षाकर्मी हुन् । लक्षण देखिएका दुई र लक्षण नदेखिएका ६ जनालाई परीक्षण गरी उपचारका लागि आइसोलेसनमा राखिएको सशस्त्र प्रहरी बल १५ नम्बर गण पाँचखालका प्रमुख एसपी महेश केसीले जानकारी दिनुभयो ।

यसअघि संक्रमण देखिएको दुई जनाको सम्पर्कमा रहेका सुरक्षाकर्मीको कोरोना परीक्षण देखिएको थियो । जिल्लामा संक्रमित हुनेहरूको संख्या ३ सय २९ पुगेको छ । जसमा सुरक्षाकर्मीको संख्या ४० रहेको छ । सोमबार वीरेन्द्र सैनिक तालिम केन्द्रमा खटिएका पाँच जनामा कोरोना संक्रमण देखिएको थियो ।

जिल्लामा रहेका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा संक्रमण देखिएको छ । संघीय प्रहरी कार्यालय बनेपामा कार्यरत १९ प्रहरी कर्मचारी, जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत ३ प्रहरी कर्मचारी, नेपाली सेनामा कार्यरत ८ जना सैनिक र सशस्त्र प्रहरीमा कार्यरत १० जना प्रहरीमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताउनुभयो ।

सुरक्षाकर्मीपछि स्वास्थ्यकर्मी संक्रमणको उच्च जोखिममा छन् । मंगलबारसम्म जिल्लामा ६६ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । स्पाइनल इन्जुरी अस्पतालमा कार्यरत १७ जना, शिर मेमोरियल अस्पतालमा कार्यरत ११ जना, धुलिखेल अस्पतालमा कार्यरत ३५ जना, भुम्लु गाउँपालिकामा १ जना, पनौती नगरपालिकामा १ जना, बनेपा नगरपालिकामा १ जना स्वास्थ्यकर्मी संक्रमणमा परेका हुन् । अस्पतालमा उपचार गराइरहेका १ सय ४ जना बिरामी पनि संक्रमणमा परेका छन् ।

जनप्रतिनिधि २, कानुन व्यवसायी १, सञ्चारकर्मी १, कर्मचारी ६, वैदेशिक रोजगारबाट फर्किएका २५ जना र समुदायमा रहेका ८६ जना संक्रणमा परेका छन् ।

संक्रमण जितेर फर्कनेहरूको संख्या १ सय ५३ रहेको छ । जिल्लाका विभिन्न आइसोलेसन, होम आइसोलेसन र जिल्लाबाहिरका विभिन्न अस्पताल र होम आइसोलेसनमा बिरामीले उपचार गराइरहेका छन् । जिल्लाभरका विभिन्न स्थानमा रहेको क्वारेन्टाइनमा २३ जना पुरुष र ३७ जना महिला गरी ६० जना रहेका छन् ।

आइसुलेसनमा ९१ पुरुष, ६० महिला गरी १ सय ५१ जना रहेका छन् । हालसम्म १९ हजार ३ सय २७ स्वाब संकलन भएकोमा १७ हजार ८ सय ७७ जनाको नेगेटिभ र १ हजार ४ सय ५० पोजेटिभ रिपोर्ट आएको छ ।

प्रतिक्रिया दिनुहोस्