मन्त्रालय र स्थानीय तहको चेपुवामा अधिकृत



सञ्जय कार्की, रौतहट

स्थानीय तहमा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्रालयले अविलम्ब हाजिर हुन पत्राचार गरेको छ तर हाजिर हुन गएका प्रमुख प्रशासकीय अधिकृतलाई स्थानीय तहका प्रमुखले हाजिर गर्नबाट वञ्चित गरिरहेका छन् ।

स्थानीय तहका प्रमुखसहितका जनप्रतिनिधिहरूले प्रशासनिक क्षेत्रका भन्दा पनि अन्य सेवा क्षेत्रमा कार्यरत रहेका जुनियर कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतमा रुचाउने गरेपछि यस्तो समस्या आएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत भदौ १४ गते रौतहटको गरुडा नगरपालिकामा सरुवा गरिदिएका सिकिन्द्रप्रसाद साहलाई नगरप्रमुख इनुराय यादवले हाजिर हुनबाट रोक्दै आएका छन् ।

नगर प्रमुख यादवले निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहम्मद मुस्ताक आलमलाई जिम्मेवारीबाट हटाइएमा कोभिड–१९ कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा बाधा पर्ने भन्दै मन्त्रालयमा पुनः जिम्मेवारी दिन पत्राचार गरेका छन् ।

मत्रालयमा लेखिएको पत्रमा विगतका आर्थिक वर्षमा जनप्रतिनिहरू बीच विवाद रहेको स्वीकारेका नगरप्रमुख यादवले सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिएर पुनः विवाद निम्त्याएका हुन् ।

हाजिर गर्न पुगेका प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साह आएका थाहा पाएपछि गरुडा नगरपालिकामा हाजिर रजिस्टर नै लुकाइएको छ । गरुडा नगरपालिकामा प्रमुख इनुराय यादवका छोरा अनिल यादव र भतिजा रामसिंह यादवले वातावरण नमिलेको भन्दै प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन नमानेका हुन् ।

नगरप्रमुख यादव छोरा र भतिजाको सल्लाहमा चल्दै आएका छन् । उता मन्त्रालयले भदौ २२ गतेदेखि तीन दिनभित्र सरुवा भएको स्थानीय तहमा हाजिर गर्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्बन्धित स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीलाई तीन दिनभित्र खटाइएको स्थानीय तह तथा कार्यालयमा हाजिर भई जानकारी दिन अन्यथा कारबाही गरिने जनाएको छ ।

२ गाउँपालिकासहित १८ वटा नगरपालिका रहेको रौतहटको गौर, ईशनाथ, माधवनारायण र मौलापुरबाहेकका स्थानीय तहमा इन्जिनियर, लेखाका कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षाका कर्मचारी, स्थानीय तहका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएपछि हरेक वर्ष प्रमुख र उपप्रमुखसहितका जनप्रतिनिधिहरू बीच विवाद हुँदै आएको छ ।

गरुडा नगरपालिकामा खानेपानीका इन्जिनियर मुस्ताक आलम, वृन्दावन नगरपालिकामा इन्जिनियर नागेन्द्र यादव, राजदेवी नगरपालिकामा इन्जिनियर सञ्जय पाण्डे, गुजरा नगरपालिकामा स्वास्थ्यका नन्देश्वर चौधरी, फतुवा विजयपुर नगरपालिकामा स्वास्थ्यकर्मी प्रमोदकुमार गुप्ता, बौद्धिमाई नगरपालिकामा स्थानीय तहका रामईश्वर राय, राजपुर नगरपालिकामा स्थानीय तहका बैजु ठकुर, देबाही गोनाही नगरपालिकामा स्थानीयका राजदेव राम, दुर्गाभगवती गाउँपालिकामा जगत्कुमार साहले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्