कोरोनाका कारण हिमाली जिल्लाको शैक्षिक सत्र अलपत्र


प्रताप बानियाँ, म्याग्दी ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण यस वर्ष हिमाली जिल्लाको शैक्षिक सत्र सञ्चालनमा समस्या भएको छ । कोरोनाका कारण सबै क्षेत्रमा प्रत्यक्ष असर परेकाले हिमाली जिल्लाहरुको शैक्षिक सत्र पनि अन्यौलमा परेको हो ।

गएको फागुन १ गतेबाट पढाई सुरु हुने हिमाली जिल्लाको शैक्षिक सत्रमा अहिलेसम्म पनि पढाई नहुँदा विद्यार्थी तथा अभिभावक अन्यौलमा परेका छन् ।

सरकारले ५ वटा हिमाली जिल्लामा फागुन १ गतेबाट शैक्षिक सत्र सुरु हुने र मंसिरमा परीक्षा हुने व्यवस्था गरेको छ । गएको चैत ११ देखि लकडाउनका कारण सबै क्षेत्र बन्द भएपछि पढाई पनि रोकिएको हुँदा हिमाली जिल्लाको शैक्षिक सत्र नै अन्यौलमा परेको जनाइएको छ ।

नेपालको हिमाली जिल्लाहरुमध्ये मनाङ, मुस्ताङ, हुम्ला, मुगु र डोल्पाको शैक्षिक सत्र झण्डै सकिए जस्तै भएको छ । तर, सरकारले हालै मात्र हिमाली जिल्लाहरुको शैक्षिक सत्र खेर जान नदिन वैकल्पिक माध्यमको प्रयोगबाट कक्षा सञ्चालनको तयारी गरेको शिक्षा विभागका योजना तथा अनुगमन शाखाका निर्देशक घनश्याम अर्यालले जानकारी दिनुभयो ।

सुरुको समयमा पढाई भए पनि अहिलेको अवस्थामा के हुन्छ ? भन्न नसकिने अवस्था रहेको बताउँदै उहाँले शैक्षिक सत्रलाई अन्यौलमा पर्न नदिन आवश्यक पहल भैरहेको बताउनुभयो ।

हरेक वर्ष मंसिरमा परीक्षा हुने र फागुन १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु हुनेहुँदा यसपटक भने फागुन महिनामा पढाएपछि विद्यालय बन्द हुँदाको अवस्थामा हिमाली जिल्लाले के गर्ने भन्नेमा अन्यौलता देखिएको हो ।

शैक्षिक सत्र अन्तर्गत जाडो समयमा घुम्ती विद्यालय सञ्चालन गर्ने उपल्लो मुस्ताङका २० विद्यालयले पहिलो त्रैमासिक परीक्षा समेत सञ्चालन गरे पनि अन्य विद्यालयहरुले भने १ महिना मात्रै पढाएका छन् ।

जनशान्ति माध्यमिक विद्यालय कागबेनी मुस्ताङका प्रधानाध्यापक प्रेम गौतमले बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकाले मास्क र स्यानीटाईजर सहयोग गरेपछि यही भदौ १० गतेबाट दैनिक ३ घण्टाका दरले पढाई सुरु गरिएको जानकारी दिनुभएको छ ।

उहाँले काभिड–१९ का विरुद्ध स्वास्थ्य सुरक्षा मापदण्डको पालनासहित आवश्यक सुरक्षा सतर्कता अपनाएर विद्यालयमा पढाई सञ्चालन भैरहेको बताउनुभयो ।

प्रअ गौतमका अनुसार कागबेनीको जनशान्ति माविसहित धौलागिरी तथा जनहित मावि जोमसोम, मुक्तिनाथ आधारभूत विद्यालय झारकोट, जननर्मल आधारभूत विद्यालय छुसाङसहित त्यस क्षेत्रमा बसोबास गर्ने करिब ५५ जना विद्यार्थीहरुलाई लक्षित गरेर पढाई सुरु गरिएको छ ।

कागबेनीको जनशान्ति माविमा लकडाउनका कारण पोखरा, काठमाडौंबाट गाउँ फर्किएका विद्यार्थीहरुलाई समेत समावेश गरी पठनपाठनको कार्य अगाडि बढाइएको विद्यालयका प्रधानाध्यापक गौतमले बताउनुभयो ।

मुस्ताङ जिल्लामा चालु शैक्षिक सत्रका लागि बाल शिक्षादेखि १० कक्षासम्म कुल ३ हजार ९१ जना विद्यार्थीहरु भर्ना भएको शिक्षा विकास तथा समन्वय इकाई मुस्ताङले जनाएको छ ।

५ वटा स्थानीय तह रहेको मुस्ताङको घरपझोङ र थासाङ गाउँपालिकामा मात्रै कक्षा ११ र १२ को पढाई हुन्छ ।यस वर्षको शैक्षिक सत्रलाई खेर जान नदिनका लागि स्थानीय तह, सरोकारवाला र सम्बन्धित विद्यालयसँग आवश्यक समन्वय गरिएको बताउँदै अध्ययन अध्यापनका क्रियाकलापहरु सञ्चालनमा वैकल्पिक विधिका माध्यमहरु प्रयोग गर्न पहल गरिएको समन्वय इकाई प्रमुख टंकराज बरालले जानकारी दिनुभयो ।