उद्योगी पक्राउ


हेटौंडा, (नेस)

हेटौंडाका उद्योगी विप्लप क्रान्ति (बीके) बोस पक्राउ परेका छन् । हेटौंडा औद्योगिक क्षेत्रस्थित सुपर लेमिकोट्स् प्रालिका व्यवस्थापक बोस परिवारको स्वामित्वमा हेटौंडा–४, गर्दोइमा एक डेरी उद्योग पनि सञ्चालनमा छ ।

उद्योग संघ हेटौंडाको पूर्वकार्यसमिति सदस्यसमेत रहेका बोसलाई जिल्ला अदालत रौतहटको भदौ १० गतेको आदेशमा मकवानपुर प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको मुद्दामा बोसलाई जिल्ला अदालत रौतहटले पक्राउ गर्न आदेश दिएअनुसार जिल्ला प्रहरी कार्यालय रौतहटको पत्रअनुसार मंगलबार गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले बोसलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्लेको टोलीले हेटौंडा–५, गर्दोइबाट बोसलाई पक्राउ गरेको प्रनाउ रानाले बताउनुभयो । पक्राउ परेका बोसलाई जिल्ला प्रहरी कार्यालय रौतहट पठाइएको प्रहरी प्रवक्ता रानाले बताउनुभयो ।