२५९ प्रहरी कारबाहीमा परे


यमलाल भुसाल, बुटवल ।

प्रदेश नंम्वर ५ मा संगठनको आचरण, नीति र नियम विपरित काम गर्ने २ सय ५९ जना बिभिन्न दर्जाका प्रहरी कारवाहीमा परेका छन ।

प्रदेश नं. ५ प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारका अनुसार आर्थिक वर्ष २०७६–७७ मा सङ्गठनले राखेको लक्ष्य र उद्देश्यविपरित काम गर्नेलाई कारबाही गरिएको बताउनु भयो ।

प्रहरीको आचरण विपरित काम गर्नेलाई नसिहत, चेतावनी, निलम्बन, ग्रेड रोक्का, पदोन्नती रोक्का, दर्जा घटुवा, चालचलन सम्बन्धि प्रतिकुल राय दिनेजस्ता कारवाही भएको प्रदेश प्रहरी कार्यालय, दाङले जनाएको छ ।

कारवाहीमा परेका प्रहरीहरुमा सबैभन्दा धेरै नसिहतमा १ सय २७ जना छन् । चालचलन सम्बधी प्रतिकूलमा पाँच, ग्रेड घटुवामा १४, ग्रेड रोक्कामा पाँच, शुरु स्केल घटुवामा दुई, पदोन्नति रोक्कामा १३, नोकरीबाट हटाइएकामा ३२, बर्खास्त गरिएकामा १, निलम्बनमा ७, स्वतः निलम्बनमा नौ र सचेत गराइएकामा ४४ जना रहेको प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता बैदवारले बताउनुभयो ।

प्रदेश नम्वर ५ मा आर्थिक वर्ष २०७५–७६ मा भन्दा आर्थिक वर्ष २०७६–७७ मा दोब्बर बढाएर आचरण, नीति र नियम विपरित काम गरेका प्रहरीलाई कारवाही गरिएको छ । आर्थिक वर्ष २०७५–७६ मा १ सय७६ प्रहरीलाई कारवाही गरिएको थियो भने आर्थिक वर्ष २०७६–७७ मा २ सय ५९ प्रहरी कारवाहीमा परेका छन् ।

सो अवधीमा संगठनको जिम्मेवारी समयमा पुरा गर्ने, आचरण, नीति र नियमको पालना गर्ने ९ सय ९० जना प्रहरी पुरस्कृत पनि भएका छन् ।

प्रदेश नम्वर ५ प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशमा सबैभन्दा धेरै बाँकेका १ सय ३२ जना प्रहरीलाई पुरस्कृत गरिएको छ भने रुपन्देहीका १ सय २७, कपिलवस्तुका १सय ५ जना प्रहरीलाई पुरस्कृत गरिएको छ ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय नवलपरासीका ४७, गुल्मीका ३७, पाल्पाका ३९, अर्घाखाँचीका ७३, दाङका ८५, बर्दियाका ८१, रोल्पाका ६७, प्युठानका १७ र रुकुम (पूर्व) का ५७ जना बिभिन्न दर्जाका प्रहरी पुरस्कृत भएका छन् ।

५ नम्वर प्रदेश प्रहरी कार्यालय दाङका ५० जना , ५ नम्वर प्रदेश तालिम केन्द्र बुटवलका ८ जना, ५ नम्वर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका ३ जना, ५ नम्वर प्रदेश सशस्त्र प्रहरी गण खजुरा बाँकेका ३८ जना तथा ५ नम्वर प्रदेश दङ्गा नियन्त्रण प्रहरी गण बुटवलका २४ जना प्रहरीलाई पुरस्कृत गरिएको छ ।

नेपाल प्रहरीले आफ्ना हौसला प्रदान गर्न तथा कामको उचित मुल्याकन गर्न राम्रो काम गर्ने प्रहरीलाई पुरस्कृत पनि गर्ने गरेको छ । त्यस्ता पुरस्कारहरु नगद पुरस्कार, ग्रेड थप, बढुवा सिफरिस, पदक बिभुषण सिफारिस गरिएकोे उहाँले बताउनु भयो ।

संगठनको नीतिभित्र बसेर सिर्जनशील काम गरेको, तोकिएका जिम्मेवारी पूरा गरेको, अनुसन्धानमा सफल भएको, लागुऔषध, कर्तव्य ज्यान, सवारी दुर्घटना, जबर्जस्ती करणी, हत्या, अवैध सामान र अवैध हातहतियारमा संलग्नलाई पक्राउ गर्न सफल हुने प्रहरीलाई सम्मान तथा पुरस्कृत गर्ने गरिएको छ ।