निषेधाज्ञाको प्रभावः संक्रमितको संख्या घटेपछि रित्तिँदै आइसोलेसन



न्युज अफ नेपाल, हेटौंडा।

कोरोना संक्रमण नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले गरेको निषेधाज्ञा प्रभावकारी देखिएको छ । जिल्ला प्रशासनले कोरोना संक्रमण नियन्त्रण गर्न साउन २६ गतेदेखि हेटांैडा उपमहानगरलगायत विभिन्न पालिकामा निषेधाज्ञा लागु गरेको थियो । जसको प्रभावका कारण संक्रमितको संख्या घट्दै गएको छ ।

हेटौडा उपमहानगर भन्दा बढी थाहानगर र गाउँपालिकामा यसको प्रभाव सकारात्मकरुपमा परेको छ । निषेधाज्ञाको प्रभावका कारण हेटौंडा उपमहानगरमा संक्रमितको संख्या घटेको छ । निषेधाज्ञाको प्रभाव हेटौडा उपमहानगरपालिका–६, गौरीटारस्थित आइसोलेसन वार्डमा देखिएको छ । गत साता उक्त आइसोलेसन वार्डमा झण्डै सय संक्रमित थिए । हाल घटेका छन् । आइतबार १३ महिलासहित ६४ जना संक्रमित आइसोलेसन वार्डमा रहे ।

गत साता ७० जनाको हाराहारीमा संक्रमितहरु होम आइसोलेनसमा बसेका थिए भने हाल १५ जनामात्र छन् । उपमहानगरका अधिकांश संक्रमित होम आइसोलेसनमा बस्न थालेका छन् । घरमा बस्न स्थान व्यबस्था नभएकामात्र गौरीटार आइसोलेसनमा बस्ने गरेको स्वास्थ्य संयोजक उत्सव चौलागार्इंले बताउनुभयो ।

गौरीटार आइसोलेसनमा २ सय बेड क्षमताको वार्ड निर्माण भइरहेको बेला हेटौंडामा संक्रमित भएर निको हुनेको संख्या पनि बढ्दैछ । संक्रमितहरु होम आइसोलेसनमा बस्ने गरेपछि थप आइसोलेसन प्रयोगमा नआउने देखिएको छ ।

कोरोना भाइरसलाई सामान्य रुघाखोकीजस्तै र सावधानी अपनाए घरमै बसेर निको हुने हुँदा आइसोलेसन नगएर होम आइसोलेसनमै बस्न थालेका छन् संक्रमित । सय बेड क्षमताको गौरीटार आइसोलेसनमा सुरुका दिनमा क्षमता भन्दा संक्रमित कोचाकोच भएर बस्थे । तर, हाल होम आइसोलेसनमा नै बस्न थालेका छन् ।

मकवानपुरमा कोरोना संक्रमण हुने क्रम घट्दै गएको छ । मकवानपुरमा शनिबारसम्म ६ हजार ३ सय ५६ जनाको स्वाब संकलन गरेर परीक्षण गर्दा ६ सय ३३ जनामा पोजेटिभ देखिएको थियो । तीमध्ये करिब ५ सय जनालाई निको भइसकेको छ ।

हेटौंडा उपमहानगरबाहेक ९ पालिकामा कोरोना भाइरस संक्रमण दर घट्दै गएको छ । जिल्लाको कैलाश, बकैया र इन्द्रसरोवरमा संक्रमित शून्य छन् भने थाहानगर, मकवानपुरगढी, भीमफेदी, राक्सिराङ र मनहरी गाउँपालिकामा कोरोना भाइरस संक्रमण घट्दै गएको छ ।

मकवानपुरगढी पालिकामा हाल ३ जना कोरोना संक्रमित घरकै आइसोलेसनमा बसेका छन् । बकैया गाउँपालिकाका ४ जनाले कोरोनालाई जितेका छन् । बकैया गाउँपालिका–४ स्थित प्राथमिक स्वास्थ्य केन्द्र र वडा नम्बर–५ स्थित सामुदायिक स्वास्थ्य केन्द्रलाई आइसोलेसन वार्ड बनाइएको छ । हाल गाउँपालिकामा सक्रिय संक्रमित छैनन् ।

भीमफेदी गाउँपालिकाले विभिन्न वडाहरुमा संक्रमितको सम्पर्कमा आएकाको पहिचान गरेर हालसम्म ९३ जनाको स्वाब संकलन गरेको छ । जसमध्ये भीमफेदी गाउँपालिकामा हालसम्म १५ जनामा कोरोना पुष्टि भएकोमा ११ जना निको भएका छन् । ४ जना गौरीटारस्थित आइसोलेसन वार्डमा उपचाररत् छन् ।

मकवानपुरको राक्सिराङ गाउँपालिकाले हालसम्म एक सय स्वाब नमूना संकलन गरेको छ । राक्सिराङ गाउँपालिकामा हालसम्म ३ जनामा कोरोना पुष्टि भएकोमा २ जना संक्रमणमुक्त भएका छन् । १ जना संक्रमित मनहरी गाउँपालिका–८ स्थित आइसोलेसनमा छन् । मनहरी गाउँपलिकामा २३ जनामा कोरोना पुष्टि भएकोमा सबै कोरोना संक्रमणमुक्त भइसकेको गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले बताउनुभयो ।

मनहरी गाउँपालिका सिनियर अहेव ज्योतिराज लुईंटेल, राक्सिराङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विजय कपारी, भीमफेदी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामनाम थिङ, बकैया गाउँपालिका स्वास्थ्य शाखा प्रमुख फटिकरमण प्याकुरेल, मकवानपुरगढी गाउँपालिका स्वास्थ्य संयोजक विदुर लामिछाने र थाहानगर स्वास्थ्य संयोजक मेघराज बलामीले संक्रमितको संख्या पालिकामा घट्दै गएकोमा खुशी व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्