रेडक्रसले दियो संक्रमितलाई हाइजिन किट



डोटी, (नेस)  । 

नेपाल रेडक्रस सोसाइटी डोटी शाखाले कोरोना संक्रमण भएर आइसोलेसनमा रहेका संक्रमितहरूलाई स्वच्छता सामग्री सेट अर्थात् हाइजिन किट प्रदान गरेको छ ।

नेपाल रेडक्रस डोटी शाखाले जिल्ला प्रहरी कार्यालयको आइसोलेसनमा रहेका तीन जना कोरोना संक्रमित पुरुषलाई हाइजिन किट उपलब्ध गराएको हो । कोरोना संक्रमण भएर दुई पुरुष तथा एक जना महिला जिल्ला प्रहरी कार्यालयको आइसोलेसनमा राखिएकाले उनीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै उक्त किट प्रदान गरिएको रेडक्रस सोसाइटी डोटी शाखाका शाखा प्रबन्धक सुवास श्रेष्ठले जानकारी दिनुभयो ।

यसभन्दा पहिले उक्त शाखाले शिखर नगरपालिका र पूर्वीचौकी गाउँपालिकाको आइसोलेसनमा रहेका ३० जना कोरोना संक्रमितलाई पनि रेडक्रसले हाइजिन किट उपलब्ध गराएको थियो । कोरोना संक्रमितलाई उपलब्ध गराएको उक्त स्वच्छता सामग्री सेट नेपाल रेडक्रस सोसाइटी डोटी शाखाका सभापति लक्ष्मीराम कुँवरले जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्ललाई हस्तान्तरण गर्नुभएको थियो ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय डोटीलाई रेडक्रस शाखाले मास्क तथा ग्लोब पनि प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्